काठमाडौं । अमेरिकी दुई र एक भियतनामी ब्राण्डले भारतमा विद्युतीय कार उत्पादन गर्ने योजना बनाएका हुन् । यी तीनवटै ब्राण्ड न्यू इनर्जी भेहिकलमा सफल ब्राण्ड मानिन्छन् ।
न्यू इनर्जी भेहिकल त्यसमा पनि ब्याट्री इलेक्ट्रीक कार उत्पादनमा आफुलाई सफल बनाउँदै आएका तीन ब्राण्ड टेस्ला, फिस्कर र भिनफास्ट ब्राण्डले भारतमा उत्पादन गर्ने योजना बनाइरहेका हुन् ।
विश्वभर विद्युतीय साधनको बिक्री तिब्र गतिमा बढिरहेको छ । निजी सवारीसाधनको रुपमा प्रयोग हुने कारहरुको बिक्री निकै तिब्र गतिमा बढेसँगै पुराना गाडी निर्माता र नयाँ निर्माता बीचको प्रतिस्पर्धा पनि राम्रै देखिन थालेको हो ।
विश्वकै तेस्रो ठूलो कार बजार भएकै कारण भारतमा धेरै उत्पादक आउन चाहन्छन् । त्यसैले विश्वभर मास मार्केटलाई ध्यानमा राखेर कार उत्पादन गर्ने कम्पनीहरु भारत आउन चाहन्छन् । त्यहाँको कार बजार मूल्य केन्द्रित रहेको कारण बजेट कार निर्माताहरुको रोजाइमा भारत पर्दै आएको हो ।
विद्युतीय कार निर्माणमा भारतीय स्टाटअप कम्पनीहरु खासै अगाडि देखिएका छैनन् । त्यहाँका पुराना निर्माता टाटा र महिन्द्रा जस्ता ब्राण्डले ईभी उत्पादनमा अग्रसरता देखाइरहेका छन् ।
तीनको तयारी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिका भ्रमणको क्रममा टेस्लाका सीईओ इलन मस्कसँग भेटेरै भारतमा टेस्लाका कार उत्पादन गर्न आग्रह गरेका थिए । त्यस विषयलाई मस्कले पनि सार्वजनिक गर्दै आफुहरु भारत आउन इच्छुक रहेको जनाएका थिए ।

अर्को अमेरिकी ब्राण्ड फिस्करले भारतमा उत्पादन प्लान्ट लगाउने घोषणा नै गरेको छ । उसले आफ्नो भारतीय बजारको प्लान तयार भएको र सन् २०२५ सम्ममा भारतमा आफ्नो प्लान्ट र नेटवर्क दुबै तयार गर्ने जनाएको छ ।

भियतनामको न्यू इनर्जी भेहिकल ब्राण्ड भिनफास्टले पनि भारतमा आफ्नो प्लान्ट लगाउने योजना सार्वजनिक गरेको छ । साना र बजेट कार चाहनेहरुको लागि छुट्टै प्लटफर्म नै तयार पारेर उत्पादनको योजना बनाएको भिनफास्टले पनि सन् २०२५ को अन्त्यसम्ममा भारतमा उत्पादन थाल्ने योजना बनाएको हो ।
नेपालमा आउँछन् यी ब्राण्ड
अमेरिकी ब्राण्ड टेस्लाका कार अहिले पनि नेपालमा किन्न पाइन्छ । तर, महंगो मूल्यको कारण यसले ठूलो भोलूम पाउन सकेको छैन । भारतमै उत्पादन हुँदा कम मूल्यको टेस्ला आउने चर्चा पनि छ । यदि भारतमा कम मूल्यको टेस्ला उत्पादन हुने हो भने नेपाल आउने छ ।
फिस्कर प्रिमियम कार उत्पादक हो । ठूला र बल्की एसयूभी भएकै कारण यसको मूल्य महंगो हुने गरेको छ । भारतमा कम्पनीको रणनीति अनुसार नेपालमा आयातकर्ता बन्ने अनुमान गर्न सकिन्छ ।
भिनफास्ट नेपाल आउने छ । अहिल्यै यसको डिलरसिप लिन यहाँका ब्यापारीहरु लागि परेका छन् । तत्काल राइट ह्याण्ड ड्राइभमा नभएकै कारण यसको डिलरसिप टुङ्गो नलागेको हो । यदि भारतमै बन्ने हो भने तत्काल यसको बिक्री नेपालमा पनि सुरु हुनेछ ।

