गाडी किन्नेले पाउन थाले ऋण, ईभी किन्नेलाई झनै सजिलो

काठमाडौं । वाणिज्य बैंकहरुले गाडी किन्ने ग्राहकलाई कर्जा उपलब्ध गराउन थालेका छन् । गत वर्षको मंसिरदेखि बजारमा तरलता अभावको कारण बैंकहरुले गाडी किन्ने ग्राहकलाई सहजै कर्जा उपलब्ध गराएका थिएनन् ।

असोजको अन्तिम सातादेखि बजारमा केही लगानी योग्य रकम बढेको र नयाँ कर्जा आवेदन दिने ग्राहक पनि कम भएसँगै बैंकमा लगानी योग्य रकम वृद्धि भएको छ । लगानी योग्य रकम बढेसँगै बैंकहरुले कर्जा स्कीम ल्याउने तयारी थालेका छन् ।

‘अहिले आफ्नो आवश्यकता पुरा गर्न थोरै रकम खोज्ने ग्राहकको आर्थिक अवस्था हेरेर कर्जा दिन सकिने अवस्था आएको छ । आशा गरौं बजार थप सहजता तर्फ जाने छ’, प्रभु बैंकका डेपुटी सीईओ मणीराम पोखरेलले मेरोअटोसँग भने ।

बजारमा तरलता बढेसँगै बैंकहरुले पनि कर्जा विस्तार तयारी थालेका छन् । बैंकहरुले गाडी विक्रेताहरुसँग सम्झौंता नै सुरु गरेका हुन् । नविल बैंकले विद्युतीय गाडी किन्ने ग्राहकलाई १२.९९ प्रतिशत ब्याजदरमा कर्जा दिने स्कीम संचालनमा ल्याएको छ । एनएमबी बैंकले पनि यस्तो कर्जा उपलब्ध गराउने जनाएको छ ।

अहिले विद्युतीय सवारीमा कर्जा दिन बैंकहरु तयार भएका छन् । राज्यले तोकेको प्राथमिकता प्राप्त क्षेत्रमा ईभी पर्ने भएको कारण यो क्षेत्रमा बैंकहरु केन्द्रित भएका हुन् । साथै, अन्तर्राष्ट्रिय निकायले उपलब्ध गराउने जलवायु परिवर्तन रोक्न प्रयोग हुने अनुदान रकम समेत ईभीमा आउन थालेको छ ।

गाडी विक्रेता कम्पनीहरुको अनुसार भने अझै बैंकले जारी गरेको डेलिभरी अर्डरको रकम पनि समयमा भुक्तानी दिएका छैन ।

‘बैंकले के गर्छ थाहा नै हुँदैन । बैंकको नाममा नामसारी भएको गाडीको पनि दुई महिनासम्म भुक्तानी पाउन सकिएको छैन । यस्तो अवस्थालाई कसरी सहज भन्नु’, एक गाडी विक्रेताले भने ।

विगतदेखि नै बैंकहरुको लागि उत्कृष्ट लगानीको क्षेत्र रहेको सवारीसाधनमा फेरी पनि बैंकहरुले लगानी गर्नेनै छन् । यसले एक वर्षदेखि सिथिल बनेको अटोमोवाइल क्षेत्रमा नयाँ उत्साह आउने देखिन्छ ।


Back_to_top