पहिलो त्रैमासमा अटोमोबाइल क्षेत्रको वृद्धिदर औसतभन्दा धेरै

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा थोक र खुद्रा व्यापार : मोटर वाहन र मोटरसाइकल मर्मत (अटोमोबाइल क्षेत्र)को वृद्धिदर औसतभन्दा धेरै हुने अनुमान गरिएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को त्रैमासिक राष्ट्रिय लेखा तथ्याङ अनुसार पहिलो त्रैमासमा थोक र खुद्रा व्यापार : मोटर वाहन र मोटरसाइकल मर्मतको वृद्धिदर ३.९ प्रतिशत हुने प्रक्षेपण गरिएको हो ।

जबकि, यस अवधिमा समग्र अर्थतन्त्रको वृद्धिदर ३.०२ प्रतिशत हुने कार्यालयको आकलन छ । गत आवको तुलनामा चालु आवमा अटोमोबाइल क्षेत्रमा निकै सुधार आएको तथ्यांकले देखाएको छ ।

गत आव २०८१/८२ मा थोक र खुद्रा व्यापार : मोटर वाहन र मोटरसाइकल मर्मतको वृद्धिदर ०.६ प्रतिशत मात्रै थियो । त्यस्तै, आव २०८०/८१ म यो क्षेत्रको वृद्धिदर १.१ ऋणात्मक थियो ।

चालु आवमा आर्थिक गतिविधिमा केही सुधार हुँदा अटोमोबाइल क्षेत्रमा सकारात्मक प्रभाव परेको हो । चालु आवमा सवारी साधनको आयात र बिक्री दुवै बढेको छ । मंसिरसम्म १ लाख १४ हजार युनिट बढी दुईपाँग्रे सवारी आयात भएको छ । त्यस्तै, यही अवधिमा ६ हजार बढी कार, साढे २ हजार बढी माइक्रोबस, बस, लगायत सवारी साधन आयात भएको भन्सार विभागको तथ्यांक छ ।

पहिलो त्रैमासमा यातायात तथा भण्डारण क्षेत्रको वृद्धिदर भने खुम्चिएर १.४ प्रतिशतमा सीमित हुने कार्यालयको प्रक्षेपण छ । गत वर्ष पहिलो त्रैमासमा यस क्षेत्रको वृद्धिदर ९.३ प्रतिशत थियो ।

कार्यालयका अनुसार पहिलो त्रैमासमा अर्थतन्त्रका १८ वटै क्षेत्रको वृद्धिदर धनात्मक भएको छ ।


Back_to_top