काठमाडौं । बजाजले चेतक इलेक्ट्रीक स्कुटर लाइनअपको नयाँ मोडल सी २५०१ सार्वजनिक गरेको छ ।
कम्पनीले भारतीय बजारमा नयाँ चेतक स्कुटर सी २५०१ मोडललाई सबैभन्दा सस्तो भेरियन्टको रूपमा बजारमा ल्याएको हो ।
कम्पनीले चेतक २५०१ नयाँ मोडलको मूल्य ९१ हजार ३९९ भारु (एक्स शोरुम) तोकेको छ ।
चेतकले बिक्री गर्दै आएको आफ्नो स्ट्यान्डर्ड मोडलको तुलनामा सी २५०१ मोडल केही सानो छ । यस स्कुटरलाई कम्पनीले पूरै नयाँ चेसिस फ्रेममा तयार पारेको हो ।
नयाँ चेतकमा एलईडी डीआरएल, फ्ल्याट फुटबोर्ड र यू आकारको एलईडी टेललाइटका साथै गोलाकार एलईडी हेडल्याम्प रहेको छ । यो मोडलको तौल मात्र १०७ किलोग्राम छ । यसमो सिट मुनि २५ लिटर क्षमताको स्टोरेज पाइन्छ।

चेतक सी २५०१ मा एलसिडी इन्स्ट्रयुमेन्ट कन्सोल, ब्लूटुथ कनेक्टिभिटी सिस्टम, यूएसबी चार्जिङ पोर्ट, हिल-होल्ड असिस्ट, रिभर्स, इको र स्पोर्ट मोड दिइएको छ ।
कम्पनीले यसमा २.५ किलोवाट आवरको ब्याट्रीप्याक दिएको छ । यसले एक पटकको फुलचार्जमा ११३ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ ।
साथै, स्कुटरमा २.२ किलोवाट क्षमताको हब माउन्टेड इलेक्ट्रीक मोटर छ । यसको टप स्पीड ५५ किलोमिटर प्रतिघण्टाको छ । यस स्कुटरमा बजाजले ३ वर्ष वा ५० हजार किलोमिटरको वारेन्टिसमेत दिने बताएको छ ।
हाल नेपालमा हंशराज हुलासचन्द एण्ड कम्पनीले बजाज चेतक ३५०१ मोडलको इलेक्ट्रीक स्कुटर बिक्री गर्दै आएको छ । कम्पनीले नयाँ स्कुटर सी २५०१ पनि चाँडै ल्याउने अनुमान गर्न सकिन्छ ।

