काठमाडौं । नेपालमा इलेक्ट्रीक भेहिकल प्रयोग बढ्दै गएको छ । इन्टरनल कम्बस्चनबाट करिब ७० प्रतिशत नयाँ कारको बजार ईभीले लिएको छ । सरकारले दिएको कर छुट नै ईभीको बिक्री बढ्नुको प्रमुख कारण हो ।
यसका अलवा पर्यावरणीय चिन्ता र ब्याट्री प्रविधिको विकास, बढ्दो व्यापार घाटा र पेट्रोलियम पदार्थमा रहेको परनिर्भरता कम गर्नु हो । ईभीको प्रयोग व्यापक बनाउन चार्जिङको सहज सुविधा हुनुपर्छ । त्यस्तो, ब्याट्री चार्ज गर्ने दुई प्रमुख विधिहरू छन् । जसमा हामीले अहिले बनाइ रहेको चार्जिङ स्टेशन पहिलो र स्वापिङ सेन्टर दोस्रो हो । ब्याट्री स्वापिङ सेन्टर अहिलेसम्म हामीले बनाएका छैनौं ।
चीनमा निकै चर्चामा रहेको स्वापिङ सेन्टर विस्तारै विश्वभर फैलिँदै छन् । निकै कम समयमा ब्याट्री परिवर्तन गरेर जान सकिने स्वापिङ विधिमा ३ देखि ५ मिनेटमै फुलचार्ज भएको ब्याट्री परिवर्तन हुन्छ । जसले गाडी चलाउने अनुभवलाई पेट्रोल पम्पजस्तै सहज बनाउँछ ।
ब्याट्री स्वापिङ विधि विशेष गरी स्कुटर, ई-रिक्सा जस्ता साना इलेक्ट्रीक सवारीमा थप उपयोगी देखिन्छ । ठूला एसयूभीहरूमा पनि यसको सफल प्रयोग भइरहेको छ । तर, सार्वजनिक यातायातको क्षेत्रमा भने यसको प्रयोग अहिलेसम्म भएको छैन ।
नेपालमा ब्याट्री स्वापिङ टेक्नोलोजी आइपुगेको छैन । तर, चिनियाँ ब्राण्ड नियो नेपाल आउने भएसँगै स्वापिङ सेन्टर बन्ने खबरहरू बाहिर आएका छन् । मुख्यतया ब्याट्री परिवर्तन गर्दा त्यसको लाइफ निर्धारणको कारण हाम्रो जस्तो सानो बजारमा थप चुनौतीपूर्ण हुने देखिन्छ ।
अर्कोतर्फ, चार्जिङ स्टेशनहरू पारम्परिक तरिकाले ब्याट्री चार्ज गर्छन् । यसमा जतिसुकै तीव्र चार्ज हुने भनिए पनि १ देखि २ घण्टा कम्पनीमा फुलचार्ज हुन लाग्छ । अझ हाम्रो देशमा व्यापक बनेको ६० किलोवाटसम्मको चार्जरलाई थप सयम लाग्छ नै । नेपाल सबैभन्दा तीव्र गतिमा चार्ज गर्न सक्ने स्टेशनहरू सरकारको मातहतमा मात्रै ६२ स्थानमा छन् । निजी क्षेत्रले पनि लगानी व्यापक बनाएको छ ।
कुन टेक्नोलोजी राम्रो ?
चार्जिङ र स्वापिङ टेक्नोलोजीमा कुन राम्रो भन्ने बहस लामै चल्न सक्छ । तर, काठमाडौं, पोखरा, चितवन लगायत ठूला सहरी क्षेत्रमा ब्याट्री स्वापिङ टेक्नोलोजी उत्तम हुन्छ ।
ग्रामीण क्षेत्रमा सौर्य ऊर्जा आधारित चार्जिङ स्टेशनहरू बनाउन सकिए उत्तम हुन्छ । नेपालको अवस्था अनुसार दुवै प्रविधिको समन्वय गर्न सकिएको खण्डमा नेपालले फाइदा लिन सक्ने विज्ञहरूको भनाइ छ । सरकारले मापदण्ड निर्माण, नीतिगत व्यवस्था र निजी क्षेत्रको सहभागितालाई प्रोत्साहन गर्ने हो भने यस्ता इकोसिस्टम निर्माणमा बल पुग्ने देखिन्छ ।
अन्तमा, ब्याट्री स्वापिङ टेक्नोलोजीले छिटो सेवा दिएर समय बचाउने छ । तर, केही समय लागे पनि चार्जिङ स्टेशनले विश्वसनीयता प्रदान गर्छ । नेपालको भौगोलिक विविधतालाई ध्यानमा राखेर दुवै प्रविधिको समायोजन नै भविष्यको उत्तम मार्ग हुन सक्छ । इलेक्ट्रीक भेहिकल प्रयोगकर्ताहरूले आफ्नो आवश्यकता अनुसार यी विकल्पहरू बीच छनोट गर्न सक्छन् ।