पूर्वाधारमन्त्री लम्सालसँग नाडाको भेट, सहजीकरण गर्ने आश्वासन

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा)ले पूर्वाधार विकास मन्त्रालयका माननीय मन्त्री सुनिल लम्सालसँग भेटगरी नेपालको अटोमोबाइल क्षेत्रका विभिन्न विषयहरूमा विस्तृत छलफल गरेको छ।

मंगलबार नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले मन्त्री लम्साललाई भेटी विस्तृत छलफल गरेको हो ।

नाडाका अध्यक्ष उपे्रतीले नेपालको अटोमोबाइल क्षेत्रसँग सम्बन्धित विभिन्न सुझावहरू प्रस्तुत गरे । उनले व्यावसायिक महत्वका सवारी साधनको दर्ता रोक्का गरिएकोमा एलसी खोलिसकिएका र बाटोमा आइसकेको ती सवारी साधनहरूको हकमा दर्ता फुकुवाको व्यवस्था हुनुपर्ने, हेभी इक्यूपमेण्ट्स् लगायतका मेशिनरी सामानहरूमा भ्याट लगाउने व्यवस्था पुर्नविचार गर्नुपर्ने, भन्सार विभाग र यातायात व्यवस्था विभागबीच डिजिटल एकीकरण गरी आयातित सवारी साधनको विवरण स्वचालित रूपमा आदान प्रदान गर्ने व्यवस्था लागू गर्नुपर्ने बताए ।

त्यसैगरी, भन्सार र यातायात प्रणाली एकीकृत भएपछि डिलरको नाममा सवारी दर्ता गर्नुपर्ने बाध्यता हटाउने, सरकारी पोर्टल मार्फत जारी हुने अस्थायी स्वघोषणा नम्बर प्रयोग गरी सवारी साधन संचालन र स्थानान्तरण गर्न सकिने व्यवस्था हुनुपर्ने, डेटा साझेदारी प्रणाली तथा डिजिटल प्रमाणीकरण प्रक्रिया सम्बन्धी स्पष्ट कार्यविधि तयार गरिनु पर्नेे, नयाँ मोटर वाहन तथा यातायात व्यवस्थापन ऐनको वर्तमान अवस्था, कार्यान्वयन समयसीमा तथा यस प्रक्रियामा नाडाको संलग्नता र भूमिकाबारे स्पष्टता गर्न नाडाले आग्रह गरेको छ ।

सो छलफलका क्रममा मन्त्री लम्सालले नाडाकोतर्फबाट आएका जायज सुझावहरुका सन्दर्भमा सरकारले ऐन नै संशोधनगरी सहजीकरण गरि दिने आश्वासन दिए ।


Back_to_top