काठमाडौं । हुन्डाई कम्पनीको इलेक्ट्रीक एसयूभी–कोनाले विभिन्न विधाका अन्तर्राष्ट्रिय पुरस्कार जित्न सफल भएको छ । स्पेनको चर्चित पत्रिका एबीसी दैनिकले वर्षको उत्कृष्ट कारको उपाधि दिएको हो । यसकासाथै, बेलायतले समेत कोना एसयूभीलाई नेक्स्ट ग्रिन–कार अवार्डबाट सम्मान गरेको छ ।
इलेक्ट्रीक एसयूभी कोना अमेरिका, स्पेनलगायतका विभिन्न देशमा बिक्री–वितरण भैरहेको छ । यो मोडल नेपाली बजारमा भने २०१९ को जनवरी अन्त्यसम्ममा भित्रिने अनुमान गिरएको छ ।
विद्युतीय कोना एकपटकको फूल–चार्जमा ३ सय ९० किलोमिटरसम्म चल्ने कम्पनीको जनाएको छ । वातावरणमैत्री कार रणनीतिमा आफूलाई बलियो सावित गर्न विद्युतीय सवारीसाधन निर्माणमा जोड दिएको हुन्डाईको भनाई रहेको छ ।
पर्यावरणीय सन्तुलन ध्यानमा राख्दै उत्पादन गरिएको इलेक्ट्रीक भेहिकलको माग अन्तर्राष्ट्रियस्तरमै बढेको छ । सोही मागलाई ध्यानमा राख्दै कम्पनीले लिथिएम आयन ब्याट्रीको उत्पादनका लागि करोडौँ रुपैयाँ लगानी गर्ने भएको छ ।
साथै, कम्पनीले सन् २०२५ सम्ममा ३८ वटा ग्रिन भेहिकल सार्वजनिक गर्ने तयारी गरेको छ । जसमध्ये १४ वटा पूर्ण इलेक्ट्रीक, १२ वटा प्लग–इन हाइब्रिड र १० वटा हाइब्रिड इलेक्ट्रीक कार हुने हुन्डाईले जनाएको छ ।

