यी हुन् २०२५ सर्वाधिक बिकेका १० ईभी मोडल, नेपालमा ३ वटा उपलब्ध

काठमाडौं । चीनले सन् २०२५ मा कुल १ करोड ६४ लाख ९० हजार युनिट न्यू इनर्जी भेहिकल (एनईभी) बिक्री गरेको छ । अघिल्लो वर्षको तुलनामा चीनको ईभी बिक्री सन् २०२५ मा २८.२ प्रतिशतले बढेको हो ।

चीनले सन् २०२५ मा घरेलु बजारमा १ करोड ३८ लाख ८० हजार र अन्तर्राष्ट्रिय बजारमा २६ लाख २० हजार युनिट एनईभी बिक्री गरेको हो । अघिल्लो वर्षको तुलनामा विदेश निर्यात शतप्रतिशत र घरेलु बजारमा बिक्री १९.८ प्रतिशतले बढेको हो ।
घरेलु बजारमा सवा करोड बढी एनईभी बिक्री हुँदा जिली ग्यालेक्सी झिङयुवान सबैभन्दा धेरै बिक्री हुने मोडल बनेको छ । १ वर्षको यो कार ४ लाख ६५ हजार ७७५ युनिट बिक्री भएको छ ।

त्यस्तै, दोस्रो धेरै बिक्री हुनेमा एसएआइसी–जीए–बुलिङ अटोमोबाइलको संयुक्त उत्पादन बुलिङ होङगुङ मिनि ईभी रहेको छ । यो कुल ४ लाख ३५ हजार ५९९ युनिट बिक्री भएको छ ।

तेस्रो धेरै बिक्री हुनेमा अमेरिकी ब्राण्ड टेस्लाको मोडल वाइ परेको छ । चीनमा १ वर्षमा मोडल वाइ ४ लाख २५ हजार ३३७ युनिट बिक्री भएको छ ।

चौथो स्थानमा विश्वकै सबैभन्दा ठूलो अटोमोबाइल कम्पनीको बीवाइडीको किन प्लस रहेको छ । यो ३ लाख ८७ हजार ३१५ युनिट बिक्री भएको छ ।

पाँचौंमा बीवाइडी सिगल ३ लाख १० हजार ९५६ युनिट, छैटौंमा बीवाइडी किन एल २ लाख ६४ हजार ६७१ युनिट, सातौंमा साओमी एसयू सेभेन २ लाख ५८ हजार १६४, आठौंमा बीवाइडी सिल ०६ २ लाख २० हजार ३१७ युनिट, नवौंमा टेस्लाको मोडेल थ्री २ लाख ३६१ र दशौंमा बीवाइडी गीत प्लस २ लाख २७६ युनिट रहेका छन् ।

शीर्षमा परेका मोडलमध्ये दुई अमेरिकी ब्राण्ड हुन भने बाँकी सबै चिनियाँ ब्राण्ड हुन् ।

नेपालमा तीन मोडल उपलब्ध

चीनमा सर्वाधिक बिक्री भएका १० ईभीमध्ये नेपालमा तीन वटा उपलब्ध रहेका छन् । नेपालमा बीवाइडीकाे एक र टेस्लाका दुईमोडल उपलब्ध रहेका हुन् ।

नेपालका लागि बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले बीवाइडीको सिगल बिक्री गर्दै आएको छ । चीनमा सिगल नामबाट बिक्री भइरहेको कार नेपालमा भने एटो वान नाममा उपलब्ध छ ।

यो गत साउनमा नाइमा अटोशोमा नेपाल आएको थियो । ४५ किलोवाटको इलेक्ट्रीक मोटर रहेकेा बीवाइडी एटो वानमा ३० र ३८.८८ किलोवाट आवरको ब्लेड ब्याट्री छ । यसले एकपटको फुलचार्जमा ३०० किमी रेन्द दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ । यसको सुरूआती मूल्य २८ लाख ९५ हजार रुपैयाँ छ ।

त्यस्तै, नेपालमा टेस्लाको मोडल वाइ र थ्री दुवै ईभी उपलब्ध छन् । टेस्लाका कार अरेटी इन्टरनेशनलले बिक्री गर्दै आएको छ ।


Back_to_top