अब बीएमडब्लूको इलेक्ट्रीक मोटरसाइकल र स्कुटर

काठमाडौं । बीएमडब्लू मोटार्डले भारतमा इलेक्ट्रीक दुई पाङ्ग्रे सवारीसाधन सार्वजनिक गर्ने तयारी गरेको छ । जमर्न कम्पनी बीएमडब्लू मोटार्डले भारतीय बजारमा इलेक्ट्रीक मोटरसाइकल र स्कुटर सार्वजनिक गर्ने योजना बनाएको हो ।

बीएमडब्लूले गतवर्ष भारतीय बजारमा ३०० सीसी क्षमताको स्कुटर सार्वजनिक गरेको थियो । कम्पनीले सार्वजनिक गरेको सी ३०० जीटीको मूल्य १० लाख भारतीय रुपैयाँ रहेको छ । १० लाख मूल्यका बावजुद पनि यो स्कुटरको विक्री राम्रो रहेको छ ।

‘प्रिमियम सेग्मेन्टमा बीएमडब्लूका स्कुटर ग्राहकले रुचाउनु भएको छ । हामी भारतीय बजारमा इलेक्ट्रीक स्कुटर सार्वजनिक गर्ने तयारीमा छौं’, बीएमडब्लू ग्रुप इन्डियाका अध्यक्ष बिक्रम पहले भने । हाल बीएमडब्लू मोटार्डले यूरोपियन बजारमा सीइ ०४ इलेक्ट्रीक म्याक्सी स्कुटर विक्री गर्दै आएको छ ।

बीएमडब्लू सीइ ०४ इलेक्ट्रीक म्याक्सी स्कुटरमा ८.९ किलोवाट क्षमताको ब्याट्री प्याक रहेको छ । यो स्कुटरमा रहेको मोटरले ४२ हर्स पावर तथा ६२ एनएम टर्क जेनेरेट गर्छ । यो पावर बीएमडब्लू एक्स १ पीएचइभी एसयूभको एक तिहाई पावर हो । यो स्कुटर एक पटक फुल चार्ज गरेर १३० किलोमिटरसम्म यात्रा गर्न सकिन्छ ।

यो स्कुटरमा रहेको ब्याट्री प्याकलाई ० देखि ८० प्रतिशतसम्म ६५ मिनेटमा चार्ज गर्न सकिन्छ । यसमा बीएमडब्ल्यू एसयूभीमा जस्तै होरिजेन्टल टीएफटी डिस्प्ले पाउन सकिन्छ । त्यस्तै यो स्कुटरको फ्रन्टमा ३५ एमएम टेलिस्कोपिक सस्पेन्सन तथा रियरमा अफ सेट मोनासक सस्पेन्सन दिइएको छ । यसका अलावा यसको फ्रन्टमा डबल डिस्क ब्रेक र रियरमा सिंगल डिस्क ब्रेकका साथै डबल च्यानल एबीएस रहेको छ । यो स्कुटरको टप स्पीड १२० किलोमिटर प्रतिघन्टा रहेको छ ।

नेपालमा पनि बीएमडब्लूले आफ्ना भारतीय उत्पादन विक्री वितरण गर्दै आएको छ । यस्तोमा भारतमा विक्री हुने इलेक्ट्रीक मोटरसाइकल र स्कुटर नेपाल पनि आउन सक्नेछन् ।


Back_to_top