नेपाल आयो पेट्रोल इन्जिनमा मारुती सुजुकी ब्रेजा, कति पर्ला मूल्य

काठमाडौं । मारुती सुजुकीको सब फोर मिटर एसयूभी ब्रेजाको नयाँ मोडल नेपाल आएको छ । सिजी मोटो कर्पले ल्याएको पेट्रोल इन्जिनयुक्त ब्रेजा अबको केही दिनपछि बिक्री सुरु गर्ने तयारी भइरहेको कम्पनी स्रोतले जनाएको छ ।

यसअघि डिजेल इन्जिनमा मात्रै उपलब्ध यो मोडल अब पेट्रोल इन्जिनमा मात्रै उपलब्ध रहने छ । सुजुकीले भारतीय बजारमा सबै किसिमका डिजेल इन्जिनको उत्पादन बन्द गरेर पेट्रोल इन्जिन मात्रै उत्पादन सुरु गरेकाले यो मोडल पनि पेट्रोल इन्जिनमा मात्रै आउने भएको हो ।

पहिलेको तुलनामा थुप्रै कस्मेटिक परिमार्जन भएर आउन लागेको नयाँ ब्रेजाको मूल्य निर्धारण भने भइसकेको छैन ।

‘आगामी हप्ताबाट शोरुमहरुमा राख्ने तयारी भइरहेको छ । मूल्य र फिचर लगायतका जानकारी पनि अर्को हप्ता नै सार्वजनिक गर्छौ’, कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।

भारतीय बजारमा डिजेल इन्जिनको तुलनामा केही मूल्य कम रहेको ब्रेजाको नेपालमा पनि मूल्य केही कम नै हुन सक्ने अनुमान गर्न सकिन्छ । यद्यपी कम्पनीले मूल्य भने अहिले खुलाएको छैन ।

 

अहिले नेपालमा ब्रेजाको सुरुवाति मूल्य ३९ लाख ४९ हजार रुपैयाँ रहेको छ भने टप भेरियन्टको मूल्य ४५ लाख २९ हजार रुपैयाँ रहेको छ ।
यसले नेपाली बजारमा हुन्डाई भेन्यू, टाटा नेक्सन, फोर्ड इकोस्पोट, महिन्द्रा एक्सयूभी ३०० जस्ता मोडलसँग प्रतिस्पर्धा गर्ने छ ।

यस्ता छन् विशेषता

मारुती सुजुकीको चर्चित सब फोर मिटर एसयूभी ब्रेजाको फेसलिफ्ट मोडल भारतमा विभिन्न नौ भेरियन्टमा बिक्री हुँदै आएको छ । तर, नेपालमा कुन कुन मोडल ल्याइएको छ भन्ने विषयमा कम्पनीले कुनै जानकारी दिएको छैन ।

भारतमा ब्रेजाको एलएक्सआई, भिएक्सआई, जेडएक्सआई, जेडएक्सआई प्लस र जेडएक्सआई प्लस (डियूलटोन) गरि ५ भेरियन्ट म्यानुयलमा र भिएक्सआई, जेडएक्सआई, जेडएक्सआई प्लस र जेडएक्सआई प्लस (डियूलटोन) गरि चार अटोमेटिक भेरियन्टमा बिक्री हुँदै आएको छ ।

नयाँ ब्रेजामा १.५ लिटर के१५बी एसएचभीएस फोर सिलिण्डर पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनले १०५ पीएस पावर र १३८ एनएम टर्क प्रदान गर्नेछ । ५ स्पीड म्यानुयल र ४ स्पीड टर्क कन्भटर अटोमेटिक गियरबक्स दिइएको छ ।

कम्पनीले जनाए अनुसार यसमा हाइब्रिड टेक्नोलोजीको प्रयोग गरिएको छ । उक्त टेक्नोलोजीले इन्धन बचत, आइडियल स्टार्टरस्टप, टर्क एसिस्ट फङ्सन, ब्रेक इनर्जी रिजेनेरेशन जस्ता फिचर उपलब्ध रहेको छ ।

अगाडिको भागमा केही परिमार्जन सहित आएको ब्रेजामा रि–डिजाईन हेडल्याम्प र एलइडी डेटाइम रनिङ लाईट प्रदान गरिएको छ । यसको टप भेरियन्टमा ग्रिलमा क्रोमको प्रयोगले गाडी निकै आकर्षक देखिएको छ । यसले गाडीलाई पहिलेको तुलनामा निकै सार्प र स्पोर्टी देखाएको छ ।


Back_to_top