चितवनमा बस दुर्घटना हुँदा ३३ जना घाइते

काठमाडौं । चितवनमा रोकिराखेको ट्रकमा बस ठोक्किँदा ३३ जना घाइते भएका छन् ।

गएराति पौने २ बजे भरतपुर महानगरपालिका-९ टिकौली जंगलमा गौरबाट काठमाडौंतर्फ आउँदै गरेको बा प्र ०३०० ख ०१२३ नम्बरको यात्रुबाहक बस इँटा लोड गरेर पार्किङमा राखेकाे ना ६ ख ८१३ नम्बरको ट्रकमा ठोक्किँदा दुर्घटना भएको हो ।

ट्रकसँग ठोक्किएको बसमा फेरि जनकपुरबाट काठमाडौंतर्फ आउँदै गरेको बा प्र ०३०० ख ३९०२ नम्बरको अर्को यात्रुबाहक बस पनि ठोक्किएको थियो।

अर्को बसले पनि ठक्कर दिएपछि पहिला ट्रकसँग ठोक्किको बस सडकमै पल्टिएको थियो । चितवन प्रहरीका अनुसार उक्त दुर्घटनामा दुइटा बसमा सवार ३३ यात्रु घाइते भएका छन् ।

घाइतेहरुलाई सशस्त्रको नेपाल नं. १७ गण आँपटारी चितवनबाट खटिएको सुरक्षा फौजले उद्धार गरी अस्पताल लगेका थिए ।

दुर्घटना भई पल्टिएको बसलाई क्रेनको सहायताले सडकबाट हटाइ सडक सुचारु गरिएको थियो ।

बा प्र ०३-००१ख ३९०२ नम्बरको रुद्राक्ष बसका चालक धनुषा जिल्ला शहीद नगरपालिका-४ बस्ने ४३ वर्षीय कृष्ण मण्डललाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ ।


Back_to_top