बीवाईडीकाे कम मूल्यकाे ह्याचब्याक ‘सीगल’ यसै वर्ष लन्च हुने

काठमाडौं । चीनको प्रमुख न्यू इनर्जी भेहिकल कम्पनी बीवाईडीको इन्ट्री लेबल ह्याचब्याक ईभी सीगल यसै वर्षको दोस्रो क्वाटरमा लन्च हुने भएको छ ।

मिडिया रिपोर्टहरूका अनुसार सीगलको लम्बाइ ३७८० एमएम, चौडाइ १७१५ एमएम, उचाइ १५४० एमएम तथा २५०० एमएमको ह्वीलबेस रहेको छ । यो कार बीवाईडी डल्फिनभन्दा ३४५ एमएम लम्बाइ, ५५ एमएम चौडाइ, ४० एमएम उचाइ तथा २०० एमएम ह्वीलबेसको लम्बाइमा सानो रहनेछ ।

क्याबिन फिचरहरूको बारेमा केही पनि जानकारी बाहिर नआए पनि यो कारमा ५५ किलोवाटको मोटर रहने छ । यो कारलाई अफोर्डएबल बनाउन कम्पनीले आफ्नो चर्चित ब्लेड ब्याट्रीको सट्टा लिथियम फस्फेट ब्याट्रीको प्रयोग गर्ने बताइएको छ ।

यो कारको डिजाइन कन्सेप्ट मरिन एस्थेटिकबाट प्रभावित भएको देखिन्छ । यसमा क्लोज फ्रन्ट ग्रिल तथा रियरमा वारपार भएको लाइट स्ट्रीप रहेको छ । यो कारको चार्जिङ पोर्ट अगाडि दाहिनेतिर रहेको छ । फाइभ डोर रहेको यो कारमा ५ वटा सिट हुने अनुमान गरिएको छ ।

बीवाईडीको ओसियन सिरिज अन्तर्गतको सीगल सानो साइजको सिटी कार हो । बीवाईडीले सीगललाई आफ्नो ओसियन सिरिजको डल्फिनभन्दा तल पोजिसनिङ गर्ने छ । यसको मूल्य १ लाख युवान आसपास अर्थात १५ हजार डलरभन्दा कम हुने अनुमान गरिएको छ ।

बीवाईडीले सुरूआती वर्षहरूमा सार्वजनिक बस तथा फ्लीटमा प्रयोग हुन भ्यानहरूमा फोकस भएको थियो । तर, पछिल्लो वर्षहरूमा भने कम्पनीले प्यासेन्जर कारको विकासमा जोड दिइरहेको देखिन्छ । कम्पनीले अन्तर्राष्ट्रिय बजारमा समेत एगे्रसिभ तरिकाले आफ्ना नयाँ नयाँ मोडल लन्च गरिरहेको छ ।

पछिल्लो समयमा मात्रै राइट ह्याण्ड ड्राइभ भएको अष्टे«लिया, सिंगापुर, जापान, भारत तथा नेपालमा समेत नयाँ नयाँ मोडल लन्च गरिरहेको छ । कम्पनीले यी बजारहरूमा एटो ३ र ई ६ को बिक्री सुरू गरिसकेको छ भने नयाँ बिगह्याच डल्फिन समेत छिट्टै लन्च गर्ने तयारी गरिरहेको छ ।


Back_to_top