काठमाडौं । चिनियाँ न्यू इनर्जी भेहिकल उत्पादक बीवाइडीले आफ्नो ग्लोवल मोडल डल्फीन ह्याचव्याक दुई नयाँ भेरियन्टमा ल्याउने घोषणा गरेको छ । कम्पनीले डल्फीनको उत्पादन ५ लाख यूनिट पुरा गरेको उपलक्ष्यमा नयाँ भेरियन्टको घोषणा गरेको हो ।
सन् २०२३ को मार्चदेखि अगष्टसम्मको बिक्री हेर्दा डल्फीनले हरेका महिना ३० हजार यूनिटभन्दा माथिको बिक्री भेट्टाउन सफल भएको छ ।
नयाँ आउने डल्फीनमा अधिकांश फिचर रेगुलर मोडल कै भएपनि मोटर पावर भने नयाँ भेरियन्टमा धेरै हुनेछ । निकै कलरफुल डिजाइनको साथ आउने नयाँ भर्सनलाई रेड र व्ल्याक कलर कम्बीनेसनमा उपलब्ध गराउने छ । यो कलर रेगुलर भर्सनमा भने उपलब्ध हुने छैन ।
यसअघि बिक्री गर्दै आएको रेगुलर डल्फीनमा ७० किलोवाट क्षमताको मोटर जडान भएको छ । यसले १८० एनएम टर्क जेनेरेट गर्छ । कम्पनीले नयाँ घोषणा गरेको दुई भेरियन्टमा १३० किलोवाट क्षमताको मोटर पावर रहने छ । यसको टर्क पनि रेगुलर मोडलभन्दा धेरै २९० एनएम हुने कम्पनीको भनाइ छ ।

डल्फीनको लम्बाई ४१२५ एमएम, चौडाई १७७० एमएम,उचाई १५७० एमएम तथा २७०० एमएमको ह्वीलवेस रहेको छ । अहिले नेपालमा बुकिङ लिइरहेको रेगुलर भर्सनमा ७० किलोवाटको मोटर रहेको छ ।
बीवाइडी डल्फीनमा ४४.९ किलोवाट आवरको ब्लेड ब्याट्री रहेको छ । यसले एक पटकको फुलचार्जमा ३४० किलोमिटरको रेन्ज दिने कम्पनीको दावी छ ।
नाडा अटो शो २०२३ बाट नेपालमा बुकिङ सुरु भएको बीवाइडी डल्फीन आकर्षक लुक्स, फिचर प्याक इन्टेरियर र १७५ एमएम ग्राउण्ड क्लियरेन्सको कारण चर्चामा छ । साथै, डल्फीनको मूल्य समेत आधिकारीक बिक्रेता साइमेक्स इंकले ३९ लाख ८० हजार रुपैयाँ राखेसँगै यसलाई ग्राहकले राम्रो संख्यामा बुकिङ गरेका छन् ।

