बीवाइडी इ–सिक्स र निसान लिफमा कुन किन्ने ?

काठमाडौं । निसानले सन् २०१० मा उत्पादन गरेको पहिलो इलेक्ट्रीक कार लिफले सुरुवाती दिनमा थुप्रै रेकर्ड बनाएको थियो । सबैभन्दा पहिला इभीमा ४ लाख यूनिटको विक्री आँकडा पुरा गर्ने मोडल बनेको लिफ सन् २०२१ मा मात्रै नेपाल आएको हो । नेपाल आएको सुरुवाती २८ यूनिट लिफ विक्री गरेपछि बजेट सार्वजनिक हुनु केही दिनअघि मात्रै ५० यूनिट लिफ नेपाल आएको थियो ।

सरकारले विद्युतीय गाडीमा कर बढाएसँगै ३० प्रतिशत भन्सार र ३० प्रतिशत अन्तःशुल्क लागेको लिफ अहिलेसम्म पुरानै मूल्यमा विक्री भइरहेको कम्पनीले जनाएको छ । निसानका गाडी नेपालमा पायोनियर मोटोकर्पले विक्री गर्दै आएको छ ।

बीवाइडी चिनियाँ ब्राण्ड हो । विश्व चर्चित लगानीकर्ता वारेन बफेडको इन्भेष्टमेन्ट कम्पनी हाथवेको लगानी रहेको बीवाइडी कार, बस, ट्रक, भ्यान जस्ता विद्युतीय सवारीसाधन उत्पादन गर्दै आएको इभी कम्पनी हो । यसले ब्याट्रीदेखि पावर मेनेजमेन्ट सिस्टमसम्म आफैँ उत्पादन गर्दै आएको छ ।

नेपाली बजारमा सन् २०१७ देखि बीवाइडीले साइमेक्स इंकलाई आधिकारीक विक्रेता तोकेर कार आयत सुरु गरेको हो । सुरुमा आएको इ सिक्स मोडल अब विस्तारै आउन छाडेको छ भने नयाँ जेनेरेशन इ सिक्स नेपालमा विक्री सुरु भएको छ । नयाँ जेनेरेशन मोडलको विक्री सुरु भएसँगै ग्राहकले यसलाई मनपराएका छन् । कम्पनीले पछिल्ला दिनमा निकै राम्रो संख्यामा इ सिक्स विक्री गर्दै आएको छ ।

यस्तोमा निसान लिफ र बीवाइडी इ सिक्स मध्ये कुन किन्ने भन्ने दोधारमा तपाई हुनुहुन्छ भने यी दुई कारको बीचमा रहेका भिन्नता हामीले यहाँ केलाउने प्रयास गरेका छौं । जसले तपाईलाई कुन किन्ने भन्ने निर्णय लिन सहज हुन सक्छ ।

ब्याट्री र मोटर

विद्युतीय गाडीको लागि ब्याट्री इन्धन हो भने मोटर इन्जिन हो । यी दुबैको उचित संयोजन भएन भने विद्युतीय गाडीको पर्फमेन्स राम्रो बन्न सक्दैन । तपाईलाई धेरै रेन्ज दिने गाडी चहिएको खण्डमा बीवाइडी इ सिक्स र धेरै पावर भएको गाडी चाहिएमा निसान लिफ किन्नु उपयुक्त हुन्छ ।

बीवाइडी इ सिक्समा ७२ किलोवाट आवरको ब्याट्री र ७० किलोवाट क्षमताको मोटर जडान भएको छ । सानो मोटर भएको कारण यसको रेन्जपनि निकै धेरै छ । कम्पनीले दावी गरे अनुसार ५२२ किलोमिटर रेन्ज रहेको इ सिक्स सडकमा गुडाउँदा पनि ४५० देखि ४७० किलोमिटर रेन्ज पाउने हाम्रो टेष्ट ड्राइभले पनि देखाएको थियो ।

निसान लिफमा ४० किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ । यसमा रहेको ब्याट्रीलाई एक पटकको फुल चार्जमा ३११ किलोमिटर गुडाउन सकिने कम्पनीले दावी गरेको छ । तर, यसले फुल चार्जमा २५० किलोमिटर हाराहारी रेन्ज दिने प्रयोगकर्ताले बताउने गरेका छन् । हामीले यसको लामो टेष्ट ड्राइभ गरेका छैनौं । निसानले यसमा ११२ किलोवाटको मोटर दिएको छ ।

यदि तपाई धेरै पावर भएको इभी खोज्दै हुनुहुन्छ भने निसान लिफ तपाईको लागि उपयुक्त हुन्छ । होइन तपाई पावर भन्दा धेरै रेन्ज चाहनु हुन्छ भने बीवाइडी इ सिक्स उपयुक्त हुन्छ ।

साइज

निसान लिफको लम्बाई ४४८० एमएम, चौडाई १७९० एमएम, उचाई १५४० एमएम र ह्वीलवेस २६९० एमएम रहेको छ । यसमा १५५ एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।

बीवाइडी इ सिक्सको लम्बाई ४६९५ एमएम, चौडाई १८१० एमएम, उचाई १६७० एमएम र ह्वीलवेस २८ सय एमएमको पाउन सकिन्छ । यसको ग्राउन्ड क्लिेयरेन्स पनि १७५ एमएम छ भने सर्वाधिक ठूलो ५८० लिटरको बुट स्पेश पाउन सकिन्छ ।

यदि तपाईलाई धेरै ग्राउन्ड क्लियरेन्स र स्पेश भएको गाडी मनपर्छ भने बीवाइडी इ सिक्स उपयुक्त हुनसक्छ ।

अन्य फिचर

सुरक्षाको लागि दुबै कार उत्कृष्ट रहेका छन् । एयरव्याग, इलेक्ट्रीक पार्किङ ब्रेक, भेहिकल डाइनामिक कन्ट्रोल सिस्टम, ट्रयाक्सन कन्ट्रोल, हिल स्टार्ट एसिस्ट कन्ट्रोल, हाइड्रोलिक ब्रेक एसिस्ट जस्ता फिचर पाउन सकिन्छ । एलइडी प्रोजेक्टर हेडल्याम्प, एलइडी टेलल्याम्प, १७ इन्चको अलोय ह्वील दुबै गाडीमा पाउन सकिन्छ ।

 

दुबै कारमा फुल डिजिटल इन्फर्मेशन डिस्प्ले दिइएको छ भने निसानले लिफमा ७ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम दिएको छ । बीवाइडी इ सिक्समा १०.१ इन्चको रोटेवल इन्फोटेन्टमेन्ट सिस्टम पाउन सकिन्छ ।

चार्जिङ नेटवर्क

चार्जिङ नेटवर्कको कुरा गर्दा निसानले फस्ट चार्जिङ नेटवर्कमा काम सुरु गरेको छैन । तर, बीवाइडीले नेपालका विभिन्न सहरका ११ स्थानमा ४० किलोवाट क्षमताको चार्जर राखेको छ । यसले हाइवे यात्रा गर्ने मानिसलाई पनि चार्ज गर्ने स्थानको कमी हुँदैन ।

निसानले सन् २०२१ बाट मात्रै गाडी नेपाल ल्याएको र दोस्रो लट गाडी नेपाल आएको कारण चार्जिङ पूर्वाधारमा काम थालेको छैन ।

मूल्य

हरेक ग्राहकको लागि सबैभन्दा महत्वपूर्ण विषय मूल्य हो । जो कोहीलाई फिचर लोडेड र प्रिमियम कार मनपर्न सक्छ । तर, आफ्नो क्षमतामा गाडी आउँछ वा आउँदैन भन्ने विषय महत्वपूर्ण हुन्छ । अहिले बीवाईडीले इ सिक्सको मूल्य ५७ लाख ५० हजार निर्धारण गरेर विक्री गर्दै आएको छ । निसान लिफको मूल्य ६४ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।

बीवाइडीले इ सिक्स बजारमा ल्याएदेखि यही मूल्यमा गाडी विक्री गर्दै आएको छ । तर, निसानले लिफको मूल्य ५ लाख रुपैयाँले बढाइ सकेको छ । निसान लिफ जापानबाट आयात हुन्छ भने इ सिक्स चीनबाट आयात हुँदै आएको छ । यस्तोमा तपाईलाई सस्तो गाडी चाहिए इ सिक्स सहि छनोट हुन सक्छ । होइन जापानी ब्राण्डको लागि म धेरै पैसा तिर्छु भने लिफ किन्न सक्नु हुन्छ ।

 


Back_to_top