काठमाडौं । चीनको फास्ट ग्रोइङ न्यू इनर्जी भेहिकल कम्पनी बीवाइडीले २०२३ को पहिलो महिनाको बिक्री आंकडा सार्वजनिक गरेको छ । कम्पनीले उक्त महिनामा १ लाख ५० हजार १६४ प्यासेन्जर कार बिक्री गरेको हो । जसमा प्योर ईभी ७१ हजार ३३८ यूनिट र पीएचईभी ७८ हजार ८२६ यूनिट बिक्री भएको हो ।
कम्पनीले अघिल्लो वर्षको जनवरी महिना भन्दा ६२ प्रतिशतले बिक्री बढाउन सफल भएको हो । बीवाइडीको बिक्रीमा १० हजार ४०९ यूनिट ओभरसीज सोल्ड हो । बीवाइडीले यो वर्षको जनवरीमा ६९ हजार ९४६ प्योर ईभी तथा ८२ हजार ९८७ पीएच ईभी उत्पादन गरेको हो । कम्पनीले सन् २०२२ मा १८ लाख ६८ हजार ५४३ यूनिट भेहिकल बिक्री गर्न सफल भएको थियो ।
बीवाइडीको मर्सडिजसँगको संयुक्त लगानीमा बनाएको ब्राण्ड डेन्जाको बिक्री पनि जनवरीमा ६ हजार ४३९ यूनिट भएको छ । डेन्जा एक हाइएण्ड ईभी ब्राण्ड हो । अहिले उत्पादन भइरहेको डेन्जा ब्राण्डको डी९ एमपीभीको मूल्य ६३ हजार डलर रहेको छ ।
जनवरीको अन्त्यमा चिनियाँ लुनार क्यालेन्डर अनुसार नयाँ वर्षको लामो बिदा पर्ने भएकाले अन्य महिनाको दाँजोमा जनवरीमा बिक्री संख्या कम हुने गरेको छ । बीवाइडीले डिसेम्बरमा २ लाख ३५ हजार १९७ यूनिट प्यासेन्जर कार बिक्री गरेको थियो । डिसेम्बरको तुलनामा जनवरीमा चीनका अधिकांश ईभीको बिक्री संख्यामा गिरावट आएको छ ।


