पेट्रोल स्कुटरलाई ईभी बनाउन कति लाग्छ खर्च ?

काठमाडौं । सवारीसाधन रेट्रो फिटिङ गर्ने विषयले अहिले चर्चा पाउन थालेको छ । विभिन्न कम्पनी तथा फर्महरुले पेट्रोलाबाट चल्ने साधनलाई ईभीमा परिवर्तन गरिरहेका छन् । यही शिलसिलामा विभिन्न कम्पनीले स्कुटरहरुलाई ईभीमा परिवर्तन कति सहज छ भन्ने अध्ययन गरिरहेका छन् ।

राष्ट्रिय आविश्कार केन्द्रदेखि विभिन्न निजी ग्यारेजहरुले समेत अहिले पेट्रोल स्कुटरलाई ईभीमा परिवर्तन गर्न अध्ययन गरिरहेका छन् । यसरी ईभीमा परिवर्तन गर्दा के के परिवर्तन गर्न पाइने र नपाइने विषयमा यातायात ऐनमा ब्यवस्था नभएको कारण सबैले ऐनमा ब्यवस्था गर्न माग गर्दै आएका छन् ।

सामान्यतया स्कुटरको बनोट उस्तै हुने भएको कारण इन्जिनको सट्टा ब्याट्री र मोटर दिएर स्कुटर कन्भर्जन गर्नु पर्ने हुन्छ । अहिलेका पेट्रोलबाट चल्ने स्कुटरमा १ किलोवाट आवरदेखि ३ किलोवाट आवरसम्मका ब्याट्री प्रयोग गर्न सकिन्छ । साथै, २ किलोवाटदेखि ५ किलोवाट क्षमताका मोटर प्रयोग गर्न सकिने छ ।

मोटर, ब्याट्री र ब्याट्री मेनेजमेन्ट सिस्टम किन्न क्षमता अनुसार ३० हजारदेखि ६० हजार रुपैयाँसम्म खर्च आउने विज्ञहरुको भनाई छ । तुलनात्मक रुपमा मोटरसाइकल भन्दा स्कुटर कन्भर्जन सहज हुने विज्ञहरु बताउँछन् ।

यसरी ५५ किलोमिटरदेखि ८० किलोमिटर प्रतिघन्टाको रफ्तारमा गुडाउन मिल्ने स्कुटर निर्माण गर्न सकिन्छ ।

नेपालमा पछिल्लो एक दशकमा ठूलो मात्रामा स्कुटरहरु आयात भएका छन् । अहिले दुई पाङ्ग्रे साधनको करिब ४० प्रतिशत बजार हिस्सा स्कुटरको पुगिसकेको समयमा ईभी कन्भर्जन गर्न सक्ने हो भने धेरै पुराना स्कुटर ईभीमा परिणत गर्न सकिन्थ्यो ।

यी सबै कामको लागि सरकारले नीतिगत ब्यवस्था तत्काल गर्नु पर्ने देखिन्छ ।


Back_to_top