पहिलो कार किन्दै हुनुहुन्छ, अपनाउनुस् यी ७ तरिका

काठमाडौं । नेपाली बजारमा दुई दर्जन ब्रान्डका सयौं मोडेलका कारहरू उपलब्ध छन् । जसका कारण कार खरिद गर्ने समयमा कुन कार किन्ने भन्ने अन्योल हुन्छ । जुन स्वभाविक पनि हो । 

नयाँ कार किन्नु एक अनौठो अनुभव पनि हो । त्यसमाथी नेपाली बजारमा कार किन्नु भनेको जीवनको कमाईको ठूलै अंश खन्याउनु हो । त्यसैले पनि कार किन्नुभन्दा अगाडि धेरै कुराहरू विचार गर्न आवश्यक छ ।

दशैं सकिदै छ, दिपावली नजिक रहेकाले कम्पनीहरुले ल्याएका अफरहरुले जो कोहीलाई लोभ्याउने गर्छ । त्यसस्ता लोभमा नपरी यी काम गर्न जरुरी हुन्छ ।

नयाँ वा पुरानो ?

कार किन्ने निर्णय तपाईंको पहिलो कदम हो । त्यसपछि तपाईंको बजेटमा निर्भर हुन्छ, कुन र कस्तो सुविधाको कार किन्ने भन्ने विषय । तपाईं प्रयोग भइरहेको कार पनि अवस्था हेरेर किन्न सक्नुहुन्छ । 

नयाँ कार किन्दा तपाईंलाई तीन वर्षसम्म कम्तीमा बनाउने झन्झटबाट मुक्ति मिल्छ भने प्रयोग भइरहेको कार किन्दा तपाईंलाई सुरुमै ठूलो रकम खन्याउनुपर्ने अवस्थाबाट पार पाउन सक्नुहुन्छ । त्यसैले नयाँ वा प्रयोग भइरहेको कार जुन किने पनि तपाईंमै निर्भर हुने मुख्य विषय हो । 

सबैभन्दा महत्वपूर्ण भनेको तपाईं सिकारु हो भने पुरानो प्रयोग भइरहेको कार किन्न उपयुक्त हुन्छ । त्यसपछि केही वर्षपछि नयाँ कार किन्दा तपाईको पैसा बचत हुन्छ । 

यदि तपाईं पुरानो कार नकिन्ने र नयाँ कारमा जाने हो भने कुनै प्रकारको वारेन्टीको अपेक्षा गर्नुपर्छ । त्यसका लागि पछि लाग्ने खर्च तथा झन्झटबाट मुक्ति मिल्छ । 

डिजेल, पेट्रोल वा अन्य 

तपाईंको कार किन्नुभन्दा पहिले अब डिजेल इन्जिन वा पेट्रोल इन्जिन वा अन्य जस्तै इलेक्ट्रीक, हाइब्रिड गाडी कुन किन्ने भन्ने विषयमा निर्णय लिन आवश्यक छ । जसमा सबैका आफ्नै विशेषताहरू रहेका छन् । 

डिजेल इन्जिन दीर्घकालको लागि खर्च कम गर्न खरिद गरिन्छ भने तत्कालको रकम कम गर्न पेट्रोल इन्जिन हेर्ने गरिन्छ । त्यसमा दुईमध्ये तपाईंको अवस्था र खर्च हेरेर निर्णय लिनुस् । पछिल्लो समय संसारभर इलेक्ट्रीक तथा हाइब्रिड गाडीहरू प्रयोग बढ्दै गएको छ । यसकारण तपाईंले कुन इन्जिनको गाडी किन्ने भन्ने विषय गाडी किन्नुभन्दा अगाडि टुंग्यानुस् ।

कुन सेगमेन्टको किन्ने ?

अब गाडी कुन इन्जिनको किन्ने निर्णय गरेपछि अब कुन सेगमेन्टको गाडी किन्ने भन्ने निर्णय लिनुस् । तपाईंले ह्याचव्याक, सेडान, स्पोर्ट तथा एसयूभी कुन सेगमेन्टका गाडी किन्ने भन्ने विषयमा निर्णय लिनुस् । सबै सेगमेन्टका आफ्नै विशेषता रहेकोले तपाईंलाई उपयुक्त हुने सेगमेन्ट रोज्नुस् । 

टेष्ट ड्राइभ गर्नुस् 

तपाईंले आफुले खरिद गर्न सक्ने केही ब्रान्डका गाडीको टेष्ट ड्राइभ गर्नुस् । जसबाट तपाईंलाई गाडी खरिदका लागि निर्णय लिन सहज हुन्छ । कम्तीमा गाडी खरिद गर्ने निर्णय गर्नुभन्दा अगाडि ५ वटा गाडीको टेष्ट ड्राइभ गर्नुस् । 

ब्रान्डको छनोट गर्नुहोस् 

तपाईंले सेगमेन्टको छनोट गरिसकेपछि अब कुन ब्रान्डको गाडी किन्ने भन्ने विषयमा निर्णय लिनुस् । जसका इन्टरनेटबाट पनि धेरै गाडीका फिचर्सहरू अध्ययन गनुस् ।

इन्जिनको क्षमता, गाडीको मूल्य, वारेन्टीजस्ता सुविधा सबै गाडीको सोरुममा जानुभन्दा अगाडि नै हेर्नुस् र शोरुममा पुगेपछि प्रश्नहरू धेरै गर्नुस् । 

गाडी खरिदपछिको सुविधा 

गाडी किन्नुभन्दा पनि खरिद गरेपछि उपभोक्ताले के सुविधा पाउँछन् भन्ने विषय महत्वपूूर्ण हो । गाडी खरिद गरेपछि मर्मतका लागि सर्भिस सेन्टर, स्पेयर्स पार्ट्स, वारेन्टीलगायतका विषयहरूमा जानकारी लिनुस् । नत्र गाडी खरिदपछि पछुताउनुबाहेक विकल्प हुदैन । पछिल्लो समय गाडी बिक्रेता तथा उत्पादकहरूको ध्यान पनि आफ्टर सेल्स सर्भिसमा केन्द्रित रहेको छ । 

भुक्तानी कसरी गर्ने ?

यदि तपाईसँग पूरै नगद छ र खरिद गर्न समस्या छैन भने यो विषयमा जानकारी लिन आवश्यक छैन । तर, गाडी भनेको अटो लोनबाटै विश्वभर बढी खरिद गरिन्छ ।

नेपालमा अहिले ३५ प्रतिशत डाउनपेइमेन्ट अनिर्वाय गरिएको छ, त्यसका लागि तपाई तयार भएपछि बैंक खोज्नु पर्छ । बजारमा ९ प्रतिशत देखि १५ प्रतिशतसम्म ब्याजदरमा अटो लोन पाईन्छ । त्यसको लागि सकभर कम ब्याजदर भएको बैंक तथा वितीय संस्थाबाट अटो लोन लिने प्रयास गर्नुपर्छ । 


Back_to_top