विश्वभर कार उपभोक्ताको संख्या बढ्दै गइरहेको छ । उक्त बजारमा आफ्नो हिस्सा विस्तार गर्न विश्वभरका कार उत्पादक कम्पनीहरु आकर्षक र नयाँ मोडल ल्याउन हानथाप गरिरहेका छन् ।
सन् २०१८ मा विश्व बजारमा ठूला कार उत्पादकको बजार हिस्सा तथ्यांक विश्लेषण गर्ने साइट स्टाटिस्टाले नयाँ तथ्यांक सार्वजनिक गरेको छ । उक्त तथ्यांक अनुसार जापानी कार उत्पादन कम्पनी टायोटा मोटर कर्पोरेसन पहिलो स्थानमा रहेको छ ।
उक्त तथ्यांक अनुसार २०१८ मा विश्व बजारमा टोयोटाको बजार हिस्सा ९.४६ प्रतिशत रहेको छ । सो अवधिमा टोयोटाले विश्वभर १ करोड ४० लाख यूनिटभन्दा धेरै कार बिक्री गरेको हो ।

टोयोटापछि दोस्रो स्थानमा जर्मन कार उत्पादन कम्पनी फक्सवागन ग्रुप रहेको छ । २०१८ मा फक्सवागनको बजार हिस्सा ७.३८ प्रतिशत रहेको छ । तेस्रो स्थानमा रहेको अमेरिकी कम्पनी फोर्ड विश्वभरको बजार हिस्सा ५.८३ प्रतिशत रहेको स्टाटिस्टाले उल्लेख गरेको छ ।
धेरै बजार हिस्सा हुने १० कारको सूचिमा ३ वटा जापानी कार उत्पादक कम्पनी रहेको छ । चौथो स्थान र पाँचौ स्थानमा क्रमशः निसान र होन्डा रहेका छन् । निसानको ५.४२ प्रतिशत र होन्डाको ५.३९ प्रतिशत बजार हिस्सा रहेको छ ।
छैटौं स्थानमा दक्षिण कोरियाली कार उत्पादक कम्पनी हुन्डाई रहेको छ, जसको विश्व बजारमा बिक्री हुने कारको हिस्सा ४.७६ प्रतिशत रहेको छ । अमेरिकी कार कम्पनी जनरल मोर्टस ७ औं स्थानमा रहँदा उसको बजार हिस्सा ४.३९ प्रतिशत छ । आठौं स्थानमा ३.०८ प्रतिशत बजार हिस्सासहित कोरियाली कम्पनी किया रहेको छ ।
सूचिको नवौं स्थानमा जर्मन कार उत्पादक कम्पनी मर्सिडिज रहेको छ, जसको बजार कार बजारको हिस्सा २.७६ प्रतिशत रहेको छ । त्यस्तै सूचिकोे अन्तिम अर्थात १०औं स्थानमा फ्रान्सेली कार उत्पादक कम्पनी रेनो रहेको छ । रेनोले विश्व कार बजारमा २.७२ प्रतिशत हिस्सा ओगटेको स्टाटिस्टाले उल्लेख गरेको छ ।

