भारतीय बजारमा यो वर्ष प्यासेन्जर सवारीको बिक्रीमा गिरावट आएको छ । यसको प्रमुख कारण जारी लोकसभा निर्वाचनलाई मानिएको छ । यो वर्ष मात्र होइन भारतमा लोकसभा निर्वाचन हुने गरेक वर्ष अटोमोबाइल बजारको वृृद्धि ऋणात्मक हुने गरेको तथ्यांक छ ।
यसैबीच २०१९ को अप्रिलमा बिक्री भएका प्यासेन्जर सवारीको तथ्यांक सार्वजनिक भएको छ । यो वर्षको अप्रिलमा सबैभन्दा धेरै मारुती सुजुकी अल्टो २२ हजार ७ सय ७७ वटा बिक्री भएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७ प्रतिशतले धेरै हो ।
दोस्रो धेरै बिक्री हुने सवारीमा मारुती डिजायर रहेको छ, जुन २०१९ को अप्रिलमा १८ हजार ५ सय ४४ वटा बिकेको छ । यो अघिल्लो वर्षको तुलनामा २८ प्रतिशतले कम हो । तेस्रो धेरै बिक्री हुने कारमा मारुती कै प्रिमियम ह्याचब्याक बलेनो रहेको छ । २०१९ को अप्रिलमा बलेनो १७ हजार ३ सय ५५ वटा बिक्री भएको छ । गत वर्षको सोही अवधिमा बलेनो २० हजार ४ सय १२ वटा बिक्री भएको थियो ।
चौथो धेरै बिक्री हुने कारमा मारुती स्वीफ्ट र पाँचौमा भिटारा ब्रेजा रहेको छ । यी दुई मोडल २०१९ को अप्रिलमा क्रमशः १५ हजार ७ सय ७६ र ११ हजार ७ सय ८५ वटा बिकेको छ । यी दुई मोडलको बिक्री गत वर्षभन्दा यो वर्ष क्रमशः ३१ प्रतिशतले गिरावट र ९ प्रतिशतले वृद्धि भएको छ ।
छैटौं स्थानमा पनि मारुतीकै ह्याचब्याक कार वागनआर रहेको छ । २०१८ को अप्रिलमा १६ हजार ५ सय ६१ वटा बिक्री भएको वागनआर यो वर्ष ११ हजार ३ सय ६ वटामा सीमित रहेको छ । सातौं स्थानमा भने हुन्डाई क्रेटा रहेको छ । हुन्डाई क्रेटाको बिक्री गत वर्ष भन्दा १२ प्रतिशतले बढेर २०१९ अप्रिलमा १० हजार ४ सय ८७ वटा बिक्री भएको तथ्यांक छ ।
मोडल अनुसार धेरै बिक्री हुने प्यासेन्जर कारको सूचिमा आठौं स्थानमा हुन्डाईको ह्याचब्याक कार आइट्वान्टी इलाइट रहेको छ । यो कार २०१९ को अप्रिलमा १० हजार ४ सय ११ वटा बिक्री भएको छ जुन गत वर्षको भन्दा १६ प्रतिशतले कम हो ।
नवौं स्थानमा समेत मारुतीकै इको रहेको छ । यो कार गत वर्षको भन्दा ३७ प्रतिशतले विक्री बढेको छ । २०१९ को अप्रिलमा मारुती इको १० हजार २ सय ५४ वटा बिक्री भएको छ । त्यस्तै १०औं स्थानमा भने हुन्डाई ग्रान्ड आइटेन रहेको छ । यो कार २०१९ को अप्रिलमा ९ हजार ६ सय १० वटा बिक्री भएको छ । गत वर्षको अप्रिलमा ग्रान्ड आइटेन १२ हजार १ सय ७४ वटा बिकेको थियो ।

