काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले छिट्टै दुई नयाँ ब्राण्डका गाडी बिक्री थाल्ने भएको छ । कम्पनीले चिनियाँ ब्राण्ड स्मार्ट र जेटोर ब्राण्डका गाडी बिक्री थाल्न लागेको हो ।
सीजी मोटर्सले काठमाडौंको थापाथलीमा स्मार्टको लागि शोरुम तयार पारेर गाडी नै राखिसकेको थियो । तर, जेन-जी आन्दोलनको क्रममा भएको आगजनीमा पूरै शोरुम चलेर नस्ट भएको कारण केही ढिलागरी स्मार्ट ब्राण्ड लन्च गर्न लागिएको हो ।
‘चाडपर्व अगाडि नै स्मार्ट ब्राण्ड लन्च गर्ने योजनामा थियौं । शोरुम नै जलेपछि केही समय सारिएको हो । अब आगामी महिनाबाट यसको बिक्री थाल्दैछौं,’ सीजी मोटर्स स्रोतले भन्यो ।
कम्पनीले स्मार्टलाई प्रिमियम सेग्मेन्टमै राखेर बजारमा ल्याउन लागेको छ । जसले उपभोक्तालाई फरक किसिमको सुविधा र अनुभूति प्रदान गर्नेछ ।
सीजीले नै यसअघि डिलरशिप लिएको जेटोर ब्राण्डका उत्पादन पनि बिक्री सुरू गर्ने योजना बनाएको छ । कम्पनीले जेटोर ब्राण्डमा दुई मोडल उपलब्ध गराउने गरी काम गरिरहेको जनाएको छ ।
चिनियाँ ब्राण्ड चेरीको सहायक ब्राण्डको रूपमा रहेको जेटोर अफरोड र लाइफ स्टाइल भेहिकलको लागि परिचित रहेको छ । जेटोर ब्राण्डमा नेपाल आउने मोडलका विषयमा भने कम्पनीले कही जानकारी दिएको छैन । जेटोरले अन्तर्राष्ट्रिय बजारमा भने हाइब्रिड भेहिकलहरू बिक्री गर्दै आएको छ ।
सन् २०२६ लागेसँगै जेटोर ब्राण्डमा ईभी आउने यसअघि नै कम्पनीले जानकारी दिइसकेको छ । सम्भवतः ईभी उत्पादन सुरू भएसँगै जेटोर ब्राण्डको नेपालमा प्रवेश हुनेछ ।
स्मार्ट ब्राण्डमा भने ह्यासट्याग १, ३ र ५ जस्ता मोडल छन् । विशेषगरी, लग्जरी कार निर्माता मर्सिडिज र जिली होल्डिङको ५०/५० प्रतिशत लगानी रहेको स्मार्ट ब्राण्डका कार युरोपमा पनि राम्रो संख्यामा बिक्री हुँदै आएको पाइन्छ ।

