काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौंको कीर्तिपुरबाट मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका २ का २७ वर्षीय समिर रुम्बा र मकवानपुरको हेटौंडा उपमहानगरपालिका २२ का २७ वर्षीय निमा रुम्बा रहेका छन् ।
कीर्तिपुरस्थित सडक खण्डमा पार्किङ गरिएको अवस्थामा रहेको बागमती प्रदेश ०२-०६२ प ०६३६ नम्बरको मोटरसाइकल चोरी गर्न लागेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
उनीहरूको साथबाट मोटरसाइकलको लक तोड्न प्रयोग हुने टी आकारको औजार समेत बरामद गरिएको छ । साथै प्रारम्भिक अनुसन्धानबाट समिर रुम्बा विगत २ वर्षदेखि मोटरसाइकल चोरीमा संलग्न रहेको खुल्न आएको छ ।
नियन्त्रणमा आएका उनीहरूलाई आवश्यक अनुसन्धानका लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न प्रहरी उपरीक्षक सुवेदीले अनुरोध गरेका छन् ।
हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएता पनि सवारी धनी स्वयम् सजग भई सुरक्षित स्थानमा पार्किङ गर्न हुन समेत अनुरोध गरिएको छ ।
सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा तत्कालै आफ्नो सवारी साधनको विवरण सहित फोन गर्न र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन सकिनेछ ।


