२ लाख मूल्यमा पाइने उत्कृष्ट ३ मोटरसाइकल, तपाईको रोजाईमा कुन ?

काठमाडौं । मोटरसाइकल नेपालमा सर्वाधिक बिक्री हुने सवारीसाधन हो । त्यसमा पनि विभिन्न सेग्मेन्ट बनाएर यी मोटरसाइकलहरुको बिक्री हुँदै आएको छ । अहिले बजारमा १२५ सीसी क्षमताका मोटरसाइकल विशेषत माइलेजको लागि गरिद गर्ने गरिन्छ ।

उत्कृष्ट माइलेज र कम सीसीका मोटरसाइकलले विशेष गरेर शहरी र तराईका जिल्लाहरुमा निकै राम्रो बजार पाइरहेका छन् । १२५ सीसीमा कम पावर क्षमताको कारण धेरै पहाडी क्षेत्रमा भने १५० सीसी क्षमताभन्दा माथिका मोटरसाइकल प्रयोग हुने गरेका छन् ।

यस्तोमा नेपाली बजारमा होन्डा, हिरो, टीभीएस, यामाहा, बजाज जस्ता कम्पनीले १२५ सीसी क्षमताका मोटरसाइकल बिक्री गर्दै आएको भएपनि यो सेग्मेन्टमा सबैभन्दा ठूलो बजार हिस्सा होन्डा साइनले ओगटेको छ । त्यसपछि हिरो स्प्लेन्डर र टीभीएस स्ट्राइकर पनि चर्चामा रहेका मोडल हुन् ।

होन्डा सिबी साइन

होन्डाको चर्चित मोटरसाइकल मध्येको एक सिबी साइन नेपाली बजारमा १२५ सीसी सेग्मेन्टमा सर्वाधिक बिक्री हुने मोटरसाइकल हो । यसमा कम्पनीले १२४.७ सीसी क्षमताको इन्जिन दिएको छ ।

यसमा दिइएको इन्जिनले ७५०० आरपीएममा अधिकता १०.५६ बीएच पावर प्रदान गर्ने छ भने ५५०० आरपीएममा १०.३० एनएम टर्क प्रदान गर्छ । यसमा १०.५ लिटर क्षमताको इन्धन ट्याङ्क दिइएको छ ।

मोटरसाइकललाई आरामदायी बनाउन अगाडि टेलिस्कोपिक र पछाडि स्पीङ लोडेड हाइड्रोलिक सस्पेन्सन दिइएको छ । स्याकार कम्पनीले नेपाली बजारमा बिक्री गर्दै आएको होन्डा सिबी साइनको सुरुवाति मूल्य २ लाख ८ हजार ९०० रुपैयाँ रहेको छ ।

टीभीएस स्ट्राइकर

टीभीएस स्ट्राइकर पनि नेपालमा सर्वाधिक बिक्री हुने १२५ सीसी सेग्मेन्टको मोटरसाइकलमा पर्छ । जगदम्बा मोटर्सले नेपालमा बिक्री वितरण गर्दै आएको यो मोटरसाइकलको मूल्य १ लाख ९४ हजार ९०० रुपैयाँ मूल्य तोकेर बिक्री वितरण गर्दै आएको छ ।

१२५ सीसी क्षमताको इन्जिन रहेको मोटरसाइकल उत्कृष्ट माइलेज दिने मध्यको एक हो । यसमा रहेको इन्जिनले ८००० आरपीएममा ११ बीएच पावर र ५५०० आरपीएममा १०.८ एनएम टर्क प्रदान गर्नेछ ।

यी ३ मोडलका अलावा यामाहा सलुटो, बजाज डिस्कभर जस्ता मोडलपनि नेपाली बजारमा राम्रो बिक्री हुने १२५ सीसी सेग्मेन्टका मोटरसाइकल हुन् ।

हिरो सुपर स्प्लेन्डर १२५

हिरोको आधिकारीक वितरक एनजीएमले नेपाली बजारमा बिक्री वितरण गर्दै आएको स्प्लेन्डर विभिन्न इन्जिन अप्सनमा उपलब्ध रहेको छ । १२५ सीसी क्षमताको हिरो सुपर स्प्लेन्डरमा १२४.७ सीसी क्षमताको इन्जिन दिइएको छ ।

यसमा रहेको इन्जिनले ७००० आरपीएममा ९ बीएच पावर र ४००० हजार आरपीएममा १०.३५ एनएम टर्क प्रदान गर्नेछ । यो मोटरसाइकलमा अगाडि टेलिस्कोपिक हाइड्रोलिक र पछाडि र्याकटेङ्गुलर स्विङ आर्म सस्पेनसन दिइएको छ । आई स्मार्ट टेक्नोलोजी युक्त यो मोटरसाइकलको मूल्य १ लाख ९० हजार ५०० रुपैयाँ रहेको छ ।


Back_to_top