साना कमर्शियल ईभी भ्यानमा चर्को प्रतिस्पर्धा, कसरी अगाडि बढ्ला सोकोन ?

काठमाडौं । साना कमर्शियल भेहिकल सेग्मेन्टमा इलेक्ट्रीक भ्यानको प्रतिस्पर्धा निकै बढेको छ । सुरुवातमा नेपाली बजारमा दिगोले डीएफएसके ब्राण्डमा पहिलो इलेक्ट्रीक भ्यान ल्याएको थियो ।

११ सिट क्षमता भएको ईभी भ्यान बिक्री गर्न दिगोलाई पछ्याउँदै सिजी मोटर्सले केवाइसी ब्राण्ड ल्यायो । सिजीको बजारमा इन्ट्रीसँगै गाडीको प्रयोग बढेको हो । सिजी मोटर्सले १ वर्षको समयमा १ हजारभन्दा बढि यूनिट केवाइसी भ्यान बिक्री गरेको अनुमान गर्न सकिन्छ ।

सिजीपछि विसाल ग्रुप अन्तर्गतको पूजा कमर्शियलले एसआरएम ब्राण्डको भ्यान ल्यायो । यहि सेग्मेन्टमा सोमबार मात्रै पुरानो अटोमोवाइल घराना एमएडब्लु ग्रुप अन्तर्गतको एमएडब्लु वृद्धि कमर्शियल भेहिकल प्रालिले सोकोन ब्राण्डका ११ सिटे भ्यान बिक्री थालेको छ ।

नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमाललाई ब्राण्ड एम्बेस्डर बनाएर बिक्री सुरु भएको सोकोन भ्यान पहिलो दिनमै ४१ वटा ग्राहकलाई हस्तान्त्रण गरिएको छ ।

अन्य कम्पनीको भ्यान जस्तै मूल्य, साइज र स्पेक रहेको सोकोनमा मुख्य फरक चार्जिङ पोर्ट हो । अन्य कम्पनीका भ्यानहरुमा जिबीटी चार्जिङ पोर्ट छ । तर, सोकोनमा युरोपियन स्ट्यान्डर्डको सीसीएस २ चार्जिङ पोर्ट रहेको छ । यसको मतलब पर्सनल कारहरुका लागि खडा गरिएका चार्जिङ स्टेशनमा यो माइक्रो चार्ज गर्न सकिन्छ ।

एमएडब्लु वृद्धिले यसअघि बिक्री गर्दै आएको फोटनको १४ र १६ सिटे हाइरुफ भ्यानमा पनि सीसीएस २ चार्जिङ पोर्ट नै छ । सीसीएस २ चार्जिङ पोर्ट युरोप तथा अमेरिका जस्ता देशहरुले स्वीकार गरेकाले बढि सुरक्षीत र ब्याट्रीको आयु लामो बनाउन मद्दत गर्ने कम्पनीले दावी गरेको छ ।

यसमा ४२ किलोवाट आवरको सीएटीएलको ब्याट्री प्याक छ । यसको लम्बाई ४५०० एमएम लामो तथा ३०५० एमएम ह्वील बेस भएको भ्यानले ३०० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दावी छ । रियर पार्किङ क्यामरा, फ्रन्ट र रियर पार्किङ सेन्सर, एयर कण्डिसन, रियर एसी भेन्ट जस्ता फिचर छन् । कम्पनीले यो भ्यानको मूल्य ४५ लाख ५० हजार तोकेको छ ।

नेपाली बजारमा अहिले सोकोन, केवाइसी, डोङफेङ, विलिङ, एसआरएम, सीएचटीसी, कामा, सानडोङ, गोनाउ जस्ता ब्राण्डका ११ सिटे इलेक्ट्रीक कमर्शियल भ्यान बिक्री भइरहका छन् ।

नाडा अटो शोमा १३ ब्राण्ड इलेक्ट्रीक भ्यान प्रदर्शन हुने

यस पटकको नाडा अटो शोमा दर्जनभन्दा बढि ब्राण्डका इलेक्ट्रीक भ्यानहरुको स्टल रहेको छ । एमएडब्लु वृद्धिले फोटोन र सोकोनको छुट्टा छुट्टै स्टल राखेको छ । सिजी मोटर्सले पनि केवाइसी र किङलङका लागि २ वटा स्टल बुक गरेको छ ।

त्यसैगरी जीइभी नेपालले डोङफेङ, पुजा कन्ट्रक्सनको एसआरएम, ईको अटो ट्रेडिङले गोनाउ, फेयरमी मोटर्सले स्काइवर्थ, त्रिवेणी ग्रुपले डीएफएसी, मेगा मोटर्सले सीएचटीसी र कामा, शशिला मोटर्सले हाइगर र विलिङ साथै नयाँ कम्पनी दक्ष अटोमोबाइलले पनि कुनै नयाँ ब्राण्डको भ्यान प्रदर्शन गर्न स्टल बुकिङ गरेका छन् ।


Back_to_top