१ हजार चार्जिङ स्टेशन निर्माण पूरा, ईभीको पूर्वाधारमा ठूलो सफलता

काठमाडौं । नेपालमा १ हजार वटा डीसी फास्ट चार्जर संचालनमा आएको छ । नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रका विभिन्न कम्पनीले गरी १ हजार चार्जिङ स्टेशन निर्माण गरेका हुन् ।

निजी क्षेत्रले सबैभन्दा धेरै चार्जिङ पूर्वाधार निर्माण गरेको छ । साथै, सरकारी लगानी र अनुदानमा पनि चार्जिङ स्टेशनहरू बन्दै आएका छन् । नेपाल विद्युत् प्राधिकरणका अनुसार निजी क्षेत्रको लगानीमा चार्जिङ स्टेशन निर्माणले तीव्रता पाएको हो ।

‘अहिले १ हजार ५० युनिट हाराहारी डीसी चार्जरहरू संचालनमा छन् । अझै निजी क्षेत्रले व्यापक रूपमा चार्जिङ स्टेशन निर्माणको काम अगाडि बढाएका छन् । अब हाइवेको ४० देखि ५० किलोमिटरको यात्रामा चार्जिङ स्टेशन पाउन सकिने भएको छ,’ नेपाल विद्युत प्राधिकरण चार्जिङ पूर्वाधार आयोजनाका प्रमुख सागरमणी ज्ञावालीले भने ।

सन् २०१८ मा कियाले पहिलो फास्ट चार्जिङ स्टेशन बनाएको थियो । कुरिनटारमा कियाले बनाएको चार्जर अहिले संचालनमा नभए पनि सन् २०२१ बाट डीसी चार्जर जडानले तिब्रता पाएको हो । अहिले नेपालमा ईभी बिक्री गर्ने हरेक कम्पनीले चार्जर लगाउन थालेका छन् ।

कसले कति बनाए ?

नेपालमा सबैभन्दा ठूलो चार्जिङ नेटवर्क भएको सीजी मोटर्स हो । चौधरी ग्रुपको स्वामित्व रहेको सीजी मोटर्सले नेपालका २९० स्थानमा डीसी चार्जर संचालनमा ल्याएको बताएको छ ।

सीजीले अहिलेसम्म २६० स्थानमा जीबीटी र ३० स्थानमा सीसीएस-टु चार्जर राखेको बताएको छ । कम्पनीले पूर्वमा पाँचथरदेखि पश्चिममा बैतडी बजारसम्म जीबीटी चार्जर राखेको जनाएको छ ।

सीजीपछि एमएडब्लू वृद्धिले ठूलो नेटवर्क बनाएको छ । एमएडब्लूले ९६ स्थानमा डीसी चार्जर राखेको छ । कम्पनीले राखेको सबै चार्जर सीसीएस-टु हो । नेपाल विद्युत् प्राधिकरणले ६२ स्थानमा चार्जर राखेको छ । प्राधिकरणले जीबीटी र सीसीएस-टु नै बनाएको छ ।

टाटा मोटर्स, बीवाइडी, ओमोडा/जेको जस्ता ब्राण्डले ३० स्थान हाराहारीमा डीसी चार्जर राखेका छन् । यसका अलावा यूएसएड, नगर विकास कोष, विभिन्न एजेन्सीहरूको सहयोगमा बनेका चार्जर पनि ठूलै संख्यामा छन् ।

सबै किसिमका विद्युतीय साधन आयात गर्ने आयातकर्ता, निजी होटल व्यवसायी, नगरपालीका, प्रदेश सरकार लगायतले पनि चार्जिङ स्टेशन निर्माण गरेका छन् । पूजा कन्ट्रक्सनले पनि एसआरम भ्यानसँगै ठूलो मात्रामा चार्जिङ स्टेशन बनाएको छ ।


Back_to_top