काठमाडौं । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत निर्माणाधीन नारायणगढ-बुटवल सडकको पूर्वी (नारायणगढ-दाउन्ने)खण्डमा ३४ वटा नयाँ पुल निर्माण सम्पन्न भएका छन् ।
चार लेनमा स्तरोन्नति भइरहेको यो सडकमा निर्वाध आवतजावतका लागि चारै लेनका नयाँ पुल बनाइएका हुन् ।
अरुण खोला पुलको आठौं स्पानको ढलान सम्पन्न भएसँगै पुल निर्माण सम्पन्न भएको नारायणघाट-बुटवल सडक योजना (पूर्वीखण्ड)ले जनाएको छ ।
आयोजनाका अनुसार पूर्वीखण्डमा २२ वटा साना (दुई साइड गरी ४४ वटा) र १२ वटा ठूला गरी ३४ वटै पुलहरूको निर्माण सम्पन्न भएको छ ।
निर्माण सम्पन्न भएका मध्ये ३३ वटा पुलबाट यातायात संचालन समेत भइसकेको छ । अरुण खोला पुलबाट पनि फाल्गुण २१ गतेको निर्वाचन अगावै यातायात संचालनमा ल्याउने गरी निर्माण कार्यलाई तीव्रता दिइएको आयोजनाले जनाएको छ ।
६५ किमी लामो यो सडकको सडक निर्माण पनि अन्तिम चरणमा पुगेको छ । दाउन्ने क्षेत्र बाहेक अरु सबै ठाउामा कालोपत्र सम्पन्न भइसकेको छ ।

