काठमाडौं । विश्वप्रसिद्ध एके-४७ राइफल निर्माता रुसी कम्पनी ‘कलश्निकोभले’ नयाँ इलेक्ट्रीक मोटरसाइकल सार्वजनिक गरेको छ ।
कम्पनीले इन्डुरो सेग्मेन्टमा ‘आइजेडएच’ नामक नयाँ इलेक्ट्रीक मोटरसाइकल बजारमा ल्याउँदै दुईपाँग्रे इलेक्ट्रीक सवारी उत्पादनमा प्रवेश गरेको हो ।
यो इलेक्ट्रीक मोटरसाइकल साधारण मोटरसाइकलभन्दा फरक छ । यसमा मान्छे बस्नका लागि नभई सामान बोक्नका लागि साइड कार सिस्टम दिइएको छ । साथै, यसको पछाडि भागमा पनि ट्रेलर (ट्रली) जोड्न मिल्ने सुविधा पाइन्छ । यही कारणले गर्दा अहिले अन्तर्राष्ट्रिय अटो बजारमा यो मोटरसाइकल चर्चामा आएको हो ।
सामान्यतया साइडकारमा मानिस बस्ने गरिन्छ । तर यस मोटरसाइकलमा दिइएको साइडकारलाई फ्ल्याटबेड प्लेटफर्म को रूपमा डिजाइन गरिएको छ । यसमा सामान राख्न, उपकरण बोक्न वा विशेष कार्यका लागि प्रयोग गर्न सकिन्छ ।
यसको साइडकार र पछाडि ट्रेलरमा आवश्यकता अनुसार ३०० किलोग्रासम्मको भारी सामान बोकेर ट्रेलर तान्न सक्छ । अधिकांश इलेक्ट्रीक मोटरसाइकलहरू अटोमेटिक हुन्छन् । तर आइजेडएच इन्डुरोमा भने ४ स्पीडको म्यानुअल गियरबक्स सिस्टम र क्लच पनि दिइएको छ । यसले अफरोड, उकालो र उबड-खाबड जस्ता बाटोमा चालकलाई अझ राम्रो नियन्त्रण दिने कम्पनीको भनाइ छ ।

यसमा आइपीएमएसएम, ब्रसलेस, समानान्तर (इन्टरनल पर्मानेन्ट म्याग्नेट्स्) डबल हब इलेक्ट्रीक मोटर टाइप, लिथियम आयोन ब्याट्री प्याक छ । यस मोटरसाइकलमा ३ किलोवाट र ५ किलोवाटको इलेक्ट्रीक मोटर विकल्प पाइन्छ ।
यस मोटरसाइकलको टप स्पीड १२० किलोमिटर प्रतिघण्टाको छ । एक सिंगलचार्जमा १०० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ । यसमा ट्राभल सस्पेन्सन सेटअप, डिस्कब्रेक, वायर स्पोक ह्वील र डिजिटल डिस्प्ले पनि दिइएको छ ।
कम्पनीका अनुसार आइजेडएच इन्डुरो विशेषगरी प्रहरी, सुरक्षाकर्मी, उद्धार टोली र एडभेन्चर राइडिङ मन पराउने प्रयोगकर्तालाई लक्षित गरेर विकास गरिएको हो ।
कम्पनीले यसको मूल्य र सर्वसाधारणका लागि बिक्री सुरू हुने आधिकारिक घोषणा गरिसकेको छैन ।

