काठमाडौं । हुन्डाई मोटर्सले भारतमा बनाएको पहिलो इलेक्ट्रीक एसयूभी क्रेटा ईभीमा आइस क्रेटामाभन्दा धेरै ग्राउण्ड क्लियरेन्स हुने भएको छ ।
क्रेटा ईभीमा पेट्रोल/डिजेल क्रेटामाभन्दा ग्राउण्ड क्लियरेन्स १० एमएम थपिएको हो । अर्थात् क्रेटा ईभीको ग्राउण्ड क्लियरेन्स २०० एमएम रहेको छ । आइस क्रेटाको ग्राउण्ड क्लियरेन्स १९० एमएम रहेको छ ।
नेपाल, भारत जस्ता देशका सडकमा खाल्डाखुल्डी धेरै हुने भएकोले कुनै पनि गाडी किन्दा ग्राउण्ड क्लियरेन्सको विशेष महत्व हुने गर्छ । अझ इलेक्ट्रीक कारहरूमा ब्याट्रीप्याक गाडीको फ्लोरमा हुने भएकाले ग्राउण्ड क्लियरेन्सको धेरै चासो हुने गरेको छ ।
हुन्डाईले यही विषयलाई सम्बोधन गर्दै नेपाल तथा भारतको सडकमा निर्वाध रुपमा क्रेटा ईभी गुडाउनको लागि २०० एमएमको ग्राउण्ड क्लियरेन्स दिएको हो ।

यसअघि भारत उत्पादन भएको टाटाको नेक्सन ईभीमा २०५ तथा महिन्द्राको एक्सयूभी ४०० ईभीमा समेत २०० एमएमको ग्राउण्ड क्लियरेन्स रहेको थियो ।
कोरियन कम्पनी एलजीको ब्याट्री
कोरियन अटोमोबाइल कम्पनी हुन्डाईले भारतमा उत्पादन गरेको पहिलो क्रेटा ईभीमा कोरियन कम्पनी एलजी इनर्जी सोलुसनले बनाएको ब्याट्री प्रयोग गरेको छ । एलजी विश्वको तेस्रो ठूलो हाइ भोल्टेज ब्याट्री उत्पादक कम्पनी हो ।
हुन्डाई इण्डियाले भारतमै लिथियम आयोन फस्फेट ब्याट्री उत्पादनका लागि भारतको प्रसिद्ध ब्याट्री उत्पादक कम्पनी एक्साइड इनर्जी सोलुसनसँग पार्टनरशिपको सम्झौता समेत गरिसकेको छ ।