के हो कमिन्ज् इन्जिन ? किन यसलाई टर्कको बादशाह मानिन्छ

डिजेल पीकअप ट्रक (जसलाई पश्चिमा मुलुकमा ‘ट्रक’ मात्र भनिन्छ) मा तपाईंको कुनै रुची नहुन सक्छ । यदि तपाई गाडीको जानकारी राख्ने मानिस हुनुहुन्छ भने तपाईंले पक्कै पनि कमिन्ज् डिजेल इन्जिनबारे सुनेको हुनु पर्छ । सन् १९१९ मा स्थापना भएयता कमिन्ज् इन्जिनले पिकअप वा अन्य गाडीका लागि हालसम्मकै बलियो र क्षमतावान् डिजेल इन्जिन बनाएर प्रतिष्ठा कमाइसकेको छ ।

यसले पिकअप इन्जिन मात्र बनाउँदैन, उत्कृष्ट जेनेरेटर, फ्युल सिस्टम र टर्बोचार्जरहरुको पनि उत्पादन गर्छ । यदि तपाईंसँग पनि कुनै पिकअप छ भने तपाईंको मनमा केही यस्ता प्रश्नहरु अवश्य उठ्छन् होला । जस्तो कि, के कारणले गर्दा कमिन्ज् इन्जिन यति शक्तिशाली हुन्छ ? कमिन्ज् इन्जिन नै किन धेरैले रोज्छन् ।

र्‍याम बाहेक फोटनले पनि आफ्ना पिकअप र भ्यानमा यो प्रमाणित इन्जिन प्रयोग गर्ने गर्छ । फोटनले आफ्नो पिकअप टुनल्यान्ड र भ्यान भ्यु सीएसमा कमिन्ज्को २.८ लिटर डिजेल इन्जिन प्रयोग गरेको छ ।

कमिन्ज् इन्जिन कम्पनीको स्थापना सन् १९१९ मा कोलम्बर, इन्डियानामा स्थानीय मेकानिक क्लेजी कमिन्ज् र उनका लगानीकर्ता विलियम ग्लेन्टन इर्विनले गरेका थिए । उनीहरुको मुख्य ध्यान त्यो बेला बजारमा उपलब्ध डिजेल इन्जिनमा सुधार ल्याउनु थियो । त्यति बेला डिजेल इन्जिनको आविष्कार भएको करिब २० वर्ष भइसकेको थियो । एक दशकको ‘ट्रायल एन्ड इरर’पछि उनीहरुले पहिलो ट्रक इन्जिन बनाए ‘मोडेल एच’ । जब यसलाई पहिलो पटक सार्वजनिक गरियो एकजना रिपोर्टरले भनेका थिए, ‘आज कोलम्बसमा एउटा बच्चा जन्मिएको छ-अटोमोबाइल जगतको बच्चा जो भविष्यमा हुर्किएर देशकै सबैभन्दा लोकप्रिय ट्रक वा बसको पावर प्लान्ट बन्नेछ ।’

के हुन् डिजेल इन्जिनका फाइदा ?

अन्य धेरै डिजेल कार इन्जिनको झैं पेट्रोल इन्जिनमा भन्दा कमिन्ज् इन्जिनका धेरै फाइदाहरु छन् । डिजेल इन्जिनको ‘कम्प्रेसन रेटिङ’ उच्च छ र त्यसैले त यसको ‘फ्युल इफिसेन्सी’ ग्याँस वा पेट्रोल इन्जिनभन्दा बढी हुनेगर्छ । डिजेल इन्जिनमा इग्निसनको सट्टा हट कम्प्रेस्ड एयर लिने भएका कारण यसको मर्मत नियमित रुपमा गर्नु पर्छ । तर, यस्ता इन्जिनको फ्युल इफिसेन्सी उच्च हुने मात्र होइन यसको टर्क पनि बेजोड हुन्छ । जसका कारण यसको तान्ने क्षमता (टोविङ क्यापासिटी) उच्च हुन्छ र ‘एसिलेरेसन’ पनि चाँडो हुन्छ ।

कमिन्ज् इन्जिन कसरी फरक ?

कमिन्ज् इन्जिनको फाइदा डिजेल इन्जिनले दिने फाइदामा मात्र सिमित भने छैन । दशकौंदेखि कमिन्ज् इन्जिनले आफूलाई अन्य डिजेल इन्जिनभन्दा फरक र शक्तिशाली सावित गर्दै आएको छ । डिजेल इन्जिनहरु लामो आयु र उच्च टर्कका लागि चर्चित छन् तर कमिन्ज्ले यी गुणलाई अझै उचाइमा पुर्‍याएको छ । जस्तो कि १९८९ को कमिन्ज् ५.९ लिटर टर्बो डिजेलले मात्र १६० हर्सपावर शक्ति उत्पन्न गर्छ तर यसको टर्क ५४२.३ एनएम रहेको छ । जुन आजको दिनसम्म कुनै पेट्रोल वा डिजेल इन्जिनबाट सम्भव भएको छैन ।

यो इन्जिन केससँग सहकार्य गरेर निर्माण गरिएको थियो । केसले निर्माण तथा कृषि उपकरणको उत्पादन गर्छ । तसर्थ यो इन्जिनको आयु अन्य ट्रक इन्जिनको भन्दा बढी रहेको छ ।

क-कसले प्रयोग गर्छन् कमिन्ज् इन्जिन ?

यो त स्पष्ट छ कि अद्वितीय टर्क, पावर र माइलेज चाहने सवारधनीका लागि कमिन्ज्ले बनाएको डिजेल इन्जिन सर्वोत्कृष्ट छनोट गर्नुपर्छ । तर कुन कुन पिकअपमा यो इन्जिन प्रयोग भएको छ त ? भन्ने जिज्ञासा हुन सक्छ ।

कमिन्स इन्जिन प्रयोग गर्ने चर्चित कार ब्रान्ड र्‍याम हो । एफसीएको स्वामित्वमा रहेको डजले सन् १९८९ मा पहिलो पटक कमिन्ज्को टर्बो डिजेल इन्जिनको प्रयोग गरेको थियो । जसले र्‍याम ट्रकलाई फोर्ड र जेनेरल मोटर्ससँगको प्रतिस्पर्धामा जित हासिल गर्न मद्दत पुर्‍याएको थियो ।

आज करिब ७५ प्रतिशत र्‍याम २५०० र ३५००का ग्राहकले वैकल्पिक कमिन्ज् डिजेल इन्जिन छान्छन् जसले अविश्वसनीय १३५५.८ एनएम बराबरको टर्क उत्पन्न गर्छ ।

र्‍याम बाहेक फोटनले पनि आफ्ना पिकअप र भ्यानमा यो प्रमाणित इन्जिन प्रयोग गर्ने गर्छ । फोटनले आफ्नो पिकअप टुनल्यान्ड र भ्यान भ्यु सीएसमा कमिन्ज्को २.८ लिटर डिजेल इन्जिन प्रयोग गरेको छ ।

हेभी पिकअपमा मात्र होइन लाइट कमर्शियल भेहिकल (एलसीभी) जस्तो कि ट्रक, भ्यान र युटिलिटी भेहिकलमा पनि यो इन्जिन प्रयोग गर्ने गरिन्छ । यसले गाडीको पर्फमेन्सलाई बेजोड बनाउनुका साथै अपरेटिङ कस्टलाई घटाउँछ । कमिन्ज् इन्जिनको आयु अन्यको तुलनामा बढी हुन्छ र यो विश्वसनीय पनि हुन्छ ।

कमिन्ज् इन्जिन कस्ट इफेक्टिभ, फ्युल इफिसेन्ट हुने मात्र होइन इन्जिनको आवाज र उत्सर्जन पनि कम हुन्छ । इन्जिनको जगतमा कमिन्ज्को बजार हिस्सा ३७.५ प्रतिशत रहेको छ । कमिन्ज् इन्जिनको विक्री एक सय ९० देशमा रहेका ६ सयभन्दा बढी आफ्नै स्वामित्वमा रहेका वितरक र करिब ६००० डिलरबाट हुन्छ । सन् २०१८ मा कमिन्जले २३.७७ अर्ब डलर बराबर कारोबार गरेको थियो ।


Back_to_top