काठमाडौं । दशैं सुरू हुन केबल १० दिन मात्रै बाँकी छ । असोज २५ गते घटस्थापनाको दिनबाट विधिवत रूपमा दशैं सुरू हुन्छ ।
तर, दशैंको मुखैमा चीनतर्फबाट सामान आयात गर्ने सबै नाका बन्द छन् । भोटेकोशीमा आएको बाढीले सडक र भन्सार पूर्वाधार बगाउँदा भदौ १० गतेदेखि रसुवागढी बन्द । तातोपानी नाका भदौ १४ देखि चीनले एकतर्फी रूपमा बन्द गरेको छ । तातोपानी र रसुवागढीको विकल्प बनेको कोरला नाका पनि असोज ८ गतेदेखि निरन्तर ४ दिन परेको वर्षाका कारण बाढिपहिरो जाँदा अवरुद्ध ।
एकैपटक भन्सार नाका र सडक बन्द हुँदा मुख्यगरी चीनबाट सवारी आयात गर्ने व्यवसायी समस्यामा परको छन् । दशैं सुरू हुन १० दिन बाँकी रहँदा पनि व्यवसायीहरू कति गाडी काठमाडौं ल्याउन सकिन्छ भनेर एकिन भन्न सक्ने अवस्थामा छैनन् ।
‘गाडी बुकिङ गर्ने ग्राहकहरू फोन गरेर कहिले गाडी आउँछ भनेर सोध्नु हुन्छ । हामीसँग उत्तर दिने शब्द नै छैन,’ एक गाडी आयातकर्ताले मेरोअटोसँग भने ।
दुई ठूला अटो शो आयोजनापछि राम्रो संख्यामा बुकिङ लिएर बसेका कम्पनीहरू पनि दशैंमा गाडी दिन नसकिने पो हो कि भन्ने चिन्तामा देखिन्छन् । गाडी सप्लाई दिन सक्नेको गाडी बिक्री हुने र सप्लाइ नभएकाले बिक्री गर्न नपाउने अवस्था दशैंमा देखिन्छ ।
चाडपर्वलाई ध्यानमा राखेर वार्षिक बिक्री हुने कारको ४० प्रतिशत यही बेलामा बिक्री हुने भएको कारण पनि सप्लाई गर्न नसक्ने आयातकर्ताले बिक्री नै गुमाउने अवस्था आउनेछ । त्यसैले सबैको ध्यान कोरोलाबाट पोखरासम्मको बाटो कहिले खुला भन्ने पर्खाइमा आयातकर्ताहरू छन् ।
उता, उपभोक्ताको पिर अर्कै छ । उनीहरू दशैंमा कार पाइँदैन कि भन्ने चिन्तामा छन् । मेरोअटोको अफिसमा फोन गर्ने एक ग्राहक मनोज नारायण भन्छन्, ‘नाइमा मै गाडी बुकिङ गरेको थिए । दशैंलाई आउँछ भन्थे । अहिले बाटो छैन भन्छन् । के गाडी दशैंमा पाइन्छ होला त ?’
यो त एउटा प्रतिनिधि घटना मात्रै हो । कारका शोरुममा भेटिने सबैको उस्तै गुनासो हुन्छ । ‘बुकिङ गरेका छौं । बैंकको डेलिभरी अर्डर (डिओ) पनि तयार छ । तर, कम्पनीले गाडी ल्याउन सक्ला जस्तो छैन ।’
अटो शोमा बुकिङ नगर्नेको लागि झनै समस्या
नाइमा मोबिलिटी एक्स्पो वा नाडा अटो शोमा कार बुकिङ नगरेका मानिसको लागि झनै समस्या हुने देखिएको छ । दशैंमा कार किन्ने योजना छ । पैसा पनि तयारी अवस्थामा छ भने पनि तपाईं रोजकै कार पाइन्छ भन्ने अवस्था छैन ।
चल्तीका कारहरू अब आगामी तिहार पछिसम्मको लागि बुकिङ भइसकेका छन् । त्यसैले पैसा भए पनि रोजेकै कार शोरुममा पुगेर किनिहाल्ने अवस्था भने देखिँदैन ।
मन्त्रालय र सडक विभागको आफ्नै कुरा
भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले केही दिनभित्रै कोदारी (तातोपानी) नाका संचालनमा ल्याउन आवश्यक पहल भइरहेको बताएका छन् ।
मन्त्रालयसहित सरकारी तथा सम्बन्धित सरोकारवालाले मंगलबार अरनिको राजमार्गको स्थलगत अनुगमन गरी सडक संचालनयोग्य बनाउने काम अघि बढाएको छ । चीनले खुलाउने बित्तिकै तातोपानी नाका संचालनमा आउने छ । यद्यपि, कहिलेदेखि खुल्छ भन्ने टुंगो लागेको छैन ।
कोरला पुग्ने कालिगण्डकी करिडोर एक सातादेखि अवरुद्ध छ । असोज ९ गतेदेखि आएको बाढीपहिरोले यो सडक ४६ स्थानमा क्षति पुगेको छ ।
अहिले अवरुद्ध कालिगण्डकी करिडोर धमाधम खुलाउने काम भइरहेको सडक विभागले जनाएको छ । विभागका अनुसार मालढुंगा-बेनी-कोरला सडकखण्डको घासा-कोरला खण्ड दुईतर्फी संचालनमा आइसकेको छ ।
मालढुंगा-घासा तथा बेनी आसपासका अवरुद्ध खण्डमा पहिरो हटाउने, ब्याक कटिङ र टेवा पर्खाल निर्माणको काम सकिन लागेको छ । सम्भव भएसम्म आज साँझसम्म काम सक्ने योजना रहेको विभागको भनाइ छ ।

