काठमाडौं । सडक विभागले १० वटा मोडुलर/बेलिब्रिज खरिदका लागि आशयपत्र माग गरेको छ ।
विभागको पुल महाशाखाले एक सूचना जारी गर्दै आपतकालीन उद्धार तथा विपद् व्यवस्थापनका लागि १० वटा मोडुलररबेली ब्रिज खरिद तथा आपूर्तिका लागि दरभाउ पत्र आह्वान गरेको हो ।
बाढीपहिराले देशका विभिन्न ठाउँमा पक्की पुल बगाएसँगै आवश्यकता अनुसार ती ठाउामा जडान गर्न विभागले विभिन्न लम्बाइका पुलहरू खरिद गर्न लागेको हो।
विभागले १२० मिटर लम्बाइका २ सेट, १०० मिटर लम्बाइ ४ सेट र ८० मिटर लम्बाइका ४ सेट बेलिब्रिज माग गरेको हो । यी सबै पुलको चौडाइ ४.२ मिटर रहेको छ ।
विभागका अनुसार यी पुलहरू जडानका लागि आवश्यक पर्ने लन्चिङ नोज, स्पेयर पाट्र्स, औजार तथा सुरक्षित ढुवानीका लागि आइएसओ स्ट्यान्डर्ड २० फिटका कन्टेनरहरूसमेत आपूर्तिकर्ताले नै उपलब्ध गराउनुपर्ने सूचनामा उल्लेख छ । यी पुल विभागले तोक अनुसारका सडक डिभिजनहरुमा पुर्याउनुपर्नेछ ।
इच्छुक उत्पादक वा आपूर्तिकर्ताहरूले आवश्यक कागजात र प्राविधिक विवरण सहित असोज २१ गते भित्र इमेल मार्फत दरभाउ पेस गर्न सक्नेछन् ।
विभागले यी पुल कुन कुन ठाउँमा जडान गर्ने खुलाएको छैन । तर, आवश्यक अनुसार जडान गर्न ससकिने जनाएको छ । १२० मिटर लामो पुल भने खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित फोक्सिङटार र नुवाकोटको त्रिशूलीमा जडान गर्ने सम्भावना रहेको बताइएको छ ।

