फास्ट चार्जर बिस्तारमा नेपालको लछाङ, कुन ब्राण्डको कति ?

फाइल तस्बीर

काठमाडौं । विद्युतीय सवारीसाधनको लागि सबैभन्दा धेरै आवश्यक पूर्वाधारको रुपमा लिइने चार्जिङ स्टेशन निर्माणमा नेपालले छलाङ लगाएको छ । सरकारी एजेन्सी नेपाल विद्युत प्राधिकरणको अग्रसरतामा सबैभन्दा धेरै चार्जिङ स्टेशन निर्माण भएका छन् ।

करिब ८ लाखदेखि ५० लाखसम्म खर्च गरेर बनाइएका चार्जिङ स्टेशनहरु ३० किलोवाटदेखि १२० किलोवाटसम्मका छन् । नेपाल विद्युत प्राधिकरणले बनाएका चार्जर १२० किलोवाट क्षमताका छन् । त्यसलाई विभाजन गरेर ६०/६० किलोवाट क्षमताका दुई वटा गनहरु राखिएका हुन् ।

प्राधिकरणले निर्माण गरेको चार्जिङ स्टेशनमा सीसीएस २ र जिबीटी गरी दुई फरक चार्जिङ गनहरु सहितको स्देशन संचालनमा छ । विशेषगरी हाइवे र वसपार्क एरियामा बनाइएका यस्ता चार्जिङ सेन्टरहरु निकै उपयोगी भएका छन् ।

अहिले बजारमा बिक्री भएर गुडिरहेका सम्पूर्ण विद्युतीय कार प्राधिकरणले बनाएका चार्जरबाट ५० मिनेटमा फुल चार्ज गर्न सकिन्छ । सार्वजनिक यातायातको रुपमा चल्ने साना माइक्रोबसहरु चार्ज गर्न जिबीटी पोर्ट भएका चार्जिङ सेन्टर निर्माण गरिएका छन् । यसले लामो रुटमा पनि ईभीको प्रयोग बढ्न थालेको छ ।

सार्वजनिक यातायातका भ्यानहरु बिक्री गर्दै आएका सिजी मोटर्स र दिगो ग्रुपले पनि जिबीटी चार्जहरु संचालनमा ल्याएका छन् । अहिलेसम्म १२० हाराहारी फास्ट चार्जरहरु संचालनमा छन् । यसले सार्वजनिक यातायातको रुपमा विद्युतीय साधनको प्रयोग विस्तार हुँदै जाने आँकलन गर्न सकिन्छ ।

कसले कति बनाए फास्ट चार्जर

निजी लगानीबाट बनेको सबैभन्दा ठूलो चार्जिङ नेटवर्क टाटाले निर्माण गरेको छ । सिप्रदी अहिलेसम्म २० वटा फास्ट चार्जर जडान गरिसकेको छ । कम्पनीले काठमाडौं र काठमाडौं बाहिरका मुख्य सहरहरुको साथै केही यूनिट हाइवेमा पनि जडान गरेको छ । टाटाले अन्य ब्राण्डलाई चार्ज गर्न अहिलेसम्म यी चार्जर खुल्ला गरेको छैन । यी सबै चार्जरले टाटाका गाडी मात्रै चार्ज गर्न पाइन्छ ।

टाटापछि सबैभन्दा ठूलो नेटवर्क बीवाइडीले बनाएको छ । बीवाइडीको १४ वटा ४० किलोवाट क्षमताको एसी फास्ट चार्जर चलिरहेको छ । कम्पनीले कठमाडौं बाहिर र काठमाडौंमा पनि एसी चार्जर संचालन गरिरहेको छ ।

बीवाइडीसँग ३० किलोवाट क्षमताको ३ वटा डिसी फास्ट चार्जर पनि संचालनमा छन् । कम्पनीले अहिले उपत्यकामा दुई र एउटा फास्ट चार्जर उपत्यका बाहिर बिराटनगरमा छ ।

एमजीले अहिलेसम्म ८ स्थानमा डिसी फास्ट चार्जर संचालनमा ल्याएको छ । एमजीका चार्जर अधिकांश पब्लिक स्थानमा नै राखिएको छ । यी चार्जरमा सबै ब्राण्डका गाडीलाई चार्जिङ सेवा उपलब्ध रहेको कम्पनीको भनाई छ ।

एमजीले अहिले धनुषाको ढल्केबगर, सुनसरीको इटहरी, झापाको विर्तामोड, सिन्धुलीको मुलकोट, ललितपुरको कुशुन्ती, चितवनको कुरिनटार र भरतपुर, रुपन्देहीको बुटवलमा चार्जर जडान गरेको छ ।

नेपालकै पहिलो फास्ट चार्जिङ स्टेशन निर्माण गरेको कियाले त्यही चार्जर मात्रै संचालनमा राखेको छ । कियाको चार्जर कुरिनटारको रिभर साइड स्प्रीङ रिसोर्टमा छ ।

उर्जा मन्त्रालयको नेतृत्वमा सिंहदरबार भित्र पनि ३० किलोवाट क्षमताको ५ वटा डिसी फास्ट चार्जर राखिएको छ । साथै, लुम्बिनीमा एडिबीको सहयोगमा बनेको ३ वटा फास्ट चार्जरहरु पनि संचालनमा छन् । गाैतमबुद्ध अन्तर्राष्टिय बिमान स्थलमा एउटा ८० किलाेवाट र ८ वटा ४० किलाेवाटकाे चाजर्र रहेकाे छ ।

सिजी मोटर्सले पनि अहिलेसम्म १३ स्थानमा चार्जर जडान गरेको जनाएको छ । सबैभन्दा पहिला आक्रमक ईभी बिक्री सुरु गरेको हुन्डाईले भने अहिलेसम्म फास्ट चार्जर राखेको छैन ।


Back_to_top