काठमाडौं । चिनियाँ ब्राण्ड दीपलको एस-०७ नेपाल आएको ठ्याक्कै एक वर्ष पुगेको छ । एक वर्षको दौरानमा कम्पनीले तीन मोडलका ईभी बजारमा बिक्री थालिसकेको छ ।
एमएडब्लू वृद्धिले अहिलेसम्म करिब ८०० युनिट विद्युतीय कार नेपाल ल्याइसकेको छ । एक वर्षभित्रै कम्पनीले एस-०७, एल-०७, ई-०७ मोडल नेपाल ल्याएको हो ।
कम्पनीले ल्याएको एस-०७ नेपाली बजारमा निकै सफल भयो । फ्युचरिष्टिक डिजाइन, आक्रमक लुक्स र युवा पुस्तालाई लोभ्याउने क्याबिन फिचरको कारण यसलाई धेरैले मन पराए । अर्को ७० लाख रुपैयाँ आसपासमा ठूलो गाडी खोज्नेको रोजाइमा पनि एस-०७ पर्न सफल भएको हो ।
दीपल एस-०७ किन्न चाहने ग्राहकलाई कम्पनीले ८० प्रतिशत फाइनान्स सुविधा समेत उपलब्ध गराएको छ । ग्राहकले २० प्रतिशत मात्रै डाउन पेमेन्ट दीपल एस-०७ किन्न सक्नेछ । यो स्कीममा कम्पनीले ८.९९ प्रतिशत ब्याज तिर्नुपर्नेछ ।
बढ्दो ईभीको बजारलाई मध्येनजर गर्दै कम्पनीले एस-०७ एलआर र ई-०७ नेपाल ल्याए पनि यी दुई मोडलले ठूलो संख्यामा बिक्री हुन सकेको छैन । दीपल ब्राण्डले नेपाली ईभी बजारमा ठूला गाडी कम मूल्यमा बिक्री गर्ने ट्रेन्ड बनायोभन्दा फरक पर्दैन ।
यही एक वर्षको दौरानमा कम्पनीले समाजका विभिन्न तप्कामा काम गरिरहेका मानिसलाई इन्फ्लोइन्सरको रूपमा प्रयोग गर्नेदेखि मार्केटिङमा नयाँ रणनीतिसम्म बनायो । त्यही कारण नेपाल आएको एक वर्ष मात्रै भएको दीपल ब्राण्ड वर्षौं पुरानो जस्तो सुनिन्छ ।
एमएडब्लू ग्रुपको आक्रमक बजार रणनीति, आकर्षक प्रोडक्ट र बढ्दो विद्युतीय साधनको प्रयोगकै कराण दीपलले नेपालमा छोटो अवधिमा ठूलो सफलता पाएको हो ।


