काठमाडौं । चांगनको इलेक्ट्रीक ब्राण्ड दिपलको प्रिमियम एसयूभी केही दिन भित्रै नेपाल आइपुग्ने भएको छ । आधिकारीक बिक्रेता एमएडब्लू वृद्धिका अनुसार आफ्नो पहिलो इलेक्ट्रीक एसयूभी दिपल एस-७ डिसेम्बर अन्तिमसम्म नेपाल आइपुग्ने छ ।
‘अबको केही दिन भित्रै दुई यूनिट एसयूभी नेपाल आइपुग्ने छ । नेपालका विविध बाटो र मौसममा परिक्षण गरेरपछि मात्रै आधिकारीक बिक्री सुरु गर्नेछौं’, कम्पनी स्रोतले भन्यो ।
कम्पनीका अनुसार कम्तीमा पनि ३ हजार किलोमिटर परिक्षण पछि मात्रै दिपल एस-७ मोडलको बुकिङ खुल्ला हुनेछ ।
राम्रो रेन्ज, आधुनिक टेक्नोलोजीले भरिपूर्ण र प्रतिस्पर्धी मूल्यमा नेपाल आउने एस७ विद्युतीय कार बजारमा नयाँ आयाम थप्ने कम्पनीको दावी छ ।
चिनियाँ बजारमा यसको सुरुवाती मूल्य २६ हजार ४०० डलरदेखि २८ हजार २०० डलर रहेको एस-७ नेपाली बजारमा ७५ लाख हाराहारीमा उपलब्ध हुन सक्ने छ । यसमा १०० किलोवाट भन्दा माथिको मोटर रहने भएकाले केही महंगो पर्ने कम्पनीको भनाइ छ ।
चांगन र हुवावे मिलेर बनाएको एस-७ मा टेक्नोलोजीको भरपूर प्रयोग भएको बताइन्छ । यसको लम्बाई ४७५० एमएम, चौडाई १९३० एमएम र उचाई १६२५ एमएम रहेको छ । यसमा २९०० एमएम लामो ह्वीलवेस दिइएको छ ।
कम्पनीले यसमा फ्रेमलेस डोर, हिडन डोर ह्याण्डल, २० इन्चको ह्वील, रियर ह्वील ड्राइभ सिस्टम यसमा दिएको छ । चिनियाँ बजारमा दुई मोटर अप्सनमा १६० किलोवाट र १९० किलोवाटमा उपलब्ध एस-७ नेपाल कुन मोटरमा आउँछ आधिकारीक जानकारी दिइएको छैन ।
मोटर मात्र होइन दिपल एस-७ मा दुई ब्याट्री अप्सन छ । कम्पनीले ६६.८ किलोवाट आवर र ७९.९७ किलोवाट आवरको दुई ब्याट्री छनोटमा दिएको हो । सानो ब्याट्रीले ५२० र ठूलो ब्याट्रीले ६२० किलोमिटर रेन्ज दिने चिनियाँ टेष्टीङ एजेन्सी सीएलटीसीले प्रमाणित गरेको छ ।
१८० किलोमिटर प्रतिघन्टाको गतिमा दौडन सक्ने एस-७ को इनर्जी खपत पनि निकै उत्कृष्ट मानिन्छ । यसले १०० किलोमिटर यात्रा गर्न केवल १४.२ किलोवाट ब्याट्री खपत गर्ने कम्पनीको दावी छ ।


