म्याग्नाइटको फेसलिफ्ट चाँडै आउने, इलेक्ट्रीक र हाइब्रिडमा पनि तयारी

काठमाडौं । निसान म्याग्नाइटको फेसलिफ्ट मोडल बजारमा ल्याउने तयारी तिब्र भएको समाचारहरु बाहिर आएका छन् । निसानको भारतमा सर्वाधिक बिक्री हुने म्याग्नाइट मोडल सन् २०२१ मा बजारमा आएको हो ।

बजारमा आएको ३ वर्ष पुरा हुनै लाग्दा कम्पनीले फेसलिफ्ट मोडलको तयारी थालेको छ । नेपालमा पनि निसान म्याग्नाइटले निकै राम्रो सफलता पाएको थियो । कम मूल्य र आकर्षक डिजाइनको कारण म्याग्नाइटको बिक्री राम्रो भएको मानिन्छ ।

सन् २०२४ को मध्यसम्ममा बजारमा आउने म्याग्नाइट लेफ्ट ह्याण्ड ड्राइभ बजारको लागि पनि उपयुक्त हुनेगरी बनाउने तयारीमा कम्पनीले काम गरिरहेको मिडिया रिपोर्टहरुले दावी गरेका छन् । लेफ्ट ह्याण्ड ड्राइभ भर्सन अफ्रिका, मिडल इष्ट र ल्याटीन अमेरिकी देशमा निर्यात हुनेछ ।

अहिले भारतीय बजारमा २५ देखि ३० हजार यूनिट प्रति वर्ष बिक्री हुँदै आएको म्याग्नाइट भारतमा उत्पादन गरेर १५ देखि २० हजार यूनिट निर्यात गर्ने योजना कम्पनीले बनाएको छ । निर्यातसँगै वार्षिक ४० देखि ५० हजार यूनिट उत्पादन गर्ने लक्ष्य निसानको छ ।

निसान म्याग्नाइटको फेसलिफ्ट मोडल रेगुलर इन्जिन, हाइब्रिड र इलेक्ट्रीक तीन वटै अप्सनमा आउन सक्ने निसान मोटर्सका ग्लोबल बिजनेश हेड फ्रान्सीयोस् विल्लीले बताएका छन् ।

विल्ली भन्छन्, ‘नयाँ टेक्नोलोजीमा जानुको विकल्प छैन । इ-पावर हाइब्रिड हाम्रो पहिलो प्राथमिकता हो । त्यसपछि ब्याट्री इलेक्ट्रीकमा जान्छौं ।’

उनले कहिलेसम्म इलेक्ट्रीक म्याग्नाइट बजारमा आउँछ भन्ने एकिन जानकारी भने दिएका छैनन् ।


Back_to_top