काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फ अरू सबै विद्युतीय सवारी साधन (ईभी)को करको दर यथावत राखे पनि डबल क्याब पिकअप ईभीको भने बढाएको छ ।
अर्थ मन्त्रालयले आगामी आवको बजेट कार्यान्वयनका लागि जारी गरेको आर्थिक विधेयकमार्फत नयाँ उपशीर्षक (एचएस कोड) कायम गरी विद्युतीय डबल क्याब पिकअपको कर बढाएको हो ।
चालु आवसम्म विद्युतीय पिकअप अन्य शीर्षकमा भन्सार जाँचपास हुँदै आएको थियो । तर, जेठ १६ गतेदेखि लागू हुनेगरी विद्युतीय पिकअपलाई सिंगल र डबल क्याबमा छुट्टाछुट्टै नयाँ उपशीर्षमा राखी फरक कर लगाइएको हो ।
सरकारले विद्युतीय डबल क्याब पिकअपको भन्सार दर १५ प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्याएको छ । डबल क्याब विद्युतीय पिकअपमा ८७०४.६०.३२ उपशीर्षक कायम गरेर २० प्रतिशत भन्सार र १० प्रतिशत अन्तःशुल्क लगाइएको हो ।
यसअघि (जेठ १४ गतेसम्म) सिंगल र डबल दुवै पिकअपमा अन्य शीर्षकमा समान १५ प्रतिशत भन्सार र ५ प्रतिशत अन्तःशुल्क लाग्थ्यो ।
सरकारले सिंगल क्याब पिकअपको नयाँ उपशीर्षक कायम गरे पनि करको दर भने समान राखेको छ । सिंगल क्याब पिकअपलाई ८७०४.६०.३१ उपशीर्षक कायम गरी १५ प्रतिशत भन्सार र ५ प्रतिशत अन्तःशुल्क लगाइएको छ।


