एडास प्रयोग गर्दा दुर्घटना भएमा चालक नै जिम्मेवार हुनुपर्ने अदालतको फैसला

काठमाडौं । चीनको सर्वाेच्च जनअदालत (एसपीसी)ले सवारी चलाउँदा हुने सबै घटनाको जिम्मेवारी चालककै हुने फैसला गरेको छ ।

सर्वाेच्च अदालतको यो फैसला एड्भान्स ड्राइभर एसिस्टेन्स सिस्टम (एडास) प्रणालीको दुरुपयोग गरिएका विभिन्न घटनाहरूको प्रतिक्रिया स्वरूप आएको हो।

पछिल्लो समय एडास माथि बढ्दो निर्भरता र दुरुपयोग घटाउने उद्देश्यले अदालतले चालकलाई जिम्मेवार बनाएको हो । अदालतको फैसला मुख्य गरी लेभल १ र लेभल २ एडास सिस्टम जडान भएका सवारी साधनमा लागू हुनेछ । अदालतले मानव चालक नै गाडीको मुख्य संचालक भएको स्पष्ट पारेको छ ।

सर्वोच्चले चीनको झेजियाङ प्रान्तमा भएको एक घटनालाई आधार मान्दै यस्तथो फैसला गरेको हो । झेजियाङमा मादक पद्धार्थ सेवन गरेका एक चालकले सवारीको पूर्ण नियन्त्रण एडास प्रणालीलाई दिएका थिए। उनले स्टेयरिङमा हात राखिएको देखाउने गरी एडास प्रणालीलाई भ्रममा पार्ने बाह्य ठगी उपकरण प्रयोग गरेका थिए। पछि सवारी सडकको बीचमा रोकिन पुग्यो र यातायात अवरुद्ध भयो। चालक भने सहचालक सिटमा सुतिरहेको अवस्थामा भेटिए।

अदालतले उक्त लापरबाहीका लागि चालकलाई नै जिम्मेवार ठहर गरेको हो । उनलाई खतरनाक सवारी संचालनको अभियोग लगाइ १ महिनाभन्दा बढी हिरासत र जरिवाना तोकिएको छ । साथै, अबदेखि यस्ता सबै घटनामा चालक नै दोषी ठहरिने अदालते अदालतको आदेशमा उल्लेछ ।

अदालतले एडासको लेभल अनुसार कुनमा कसको दोष हुन्छ भन्ने पनि स्पष्ट पारेको छ । जसमा लेभल १ र लेभल २ एडास भएको गाडीले कुनै घटना घटाएमा त्यसको पूर्ण जिम्मेवार चालक हुने स्पष्ट पारेको छ ।

त्यस्तै, लेभल ३ एडास (आंशिक स्वचालित) भएको गाडीमा पनि चालक जिम्मेवार हुने अदालतको ठहर छ । तर प्रविधि बिग्रिएको खण्डमा कम्पनी दोषी हुनेछ । लेभल ४ र लेभल ५ एडास (पूर्ण चालकविहीन)मा गाडी चलाउने कम्पनी वा निर्माता जिम्मेवार हुने अदालतको भनाइ छ ।

चीनको यो फैसलाले सडक सुरक्षा बढाउन मद्दत गर्ने विश्वास गरिएको छ । साथै, एडास प्रणालीको दुरुपयोग र अत्यधिक निर्भरता रोक्न प्रभावकारी भूमिका खेल्ने देखिन्छ।

अदालतले मानिसहरूलाई प्रविधिमा मात्र भर नपरी सधैं सतर्क रहन समेत सचेत गराएको छ । प्रविधिले चालकलाई सघाउने भए पनि जिम्मेवार भने स्वयम् नै हुनुपर्ने अदालतको भनाइ छ ।


Back_to_top