काठमाडौं । डुकाटी इन्डियाले भारतीय बजारमा डुकाटी वाच सार्वजनिक गरेको छ । डुकाटीले वाचको ४३ मोडलहरु सार्वजनिक भएको हो ।
डुकाटीले उत्पादन गर्ने घडीहरु भारतमा टाइटनका शोरुमहरुबाट बिक्री वितरण हुनेछ । टाइटन वाच भारतकै ठूलो अटोमोबाइल निर्माता टाटा ग्रुपको स्वामित्वमा छ ।
टाइटनले डुकाटीका घडीहरु उत्पादन गरेको भने होइन । टाइटनले डुकाटी वाचको बिक्री वितरणका साथै सर्भिसको काम गर्नेछ । डुकाटी वाचको मूल्य भारतमा १४ हजार ८०० भारतीय रुपैयाँदेखि २८ हजार भारतीय रुपैयाँसम्म तोकिएको छ ।
डुकाटीले यी घडीहरु मोटरसाइकलबाट प्रभावित डिजाइनमा तयार पारेको छ । घडीको डायलहरु मोटरसाइकलको इन्स्ट्रुमेन्ट क्लस्टरबाट प्रभावित छन् भने यसमा प्रयोग गरिएका फ्रेम एरोडाइनामिक छन् । घडीमा प्रयोग गरिएको रेड एक्सेन्टहरुले डुकाटी मोटरसाइलको झल्को दिन्छ ।
डुकाटीले एसेसरिजका रुपमा यी वाचहरु सार्वजनिक गरेको बताएको छ । भारतमा डुकाटीका मोटरसाइकलहरु रेसिङका लागि परिचित छन् ।

