काठमाडौं । नेपालमा ईभीको बढ्दो प्रयोगसँगै यसमा आउन सक्ने समस्याको विषयमा कुनै किसिमको जानकारी दिने गरेको पाइदैन । संसार मानव निर्मित सबै साधनमा कुनै न कुनै समस्या आउन सक्छ । त्यसको विषयमा प्रयोगकर्ता सुसुचित गर्ने काम उत्पादक वा बिक्रेताको हो ।
त्यसमा पनि विद्युतीय साधनमा हुने सबैभन्दा मूल्यवान कम्पोनेन्ट नै ब्याट्री हो । त्यसैले ईभीको ब्याट्रीमा समस्या नआवस् भनेर कम्पनी उपभोक्तादेखि बिक्रेतासम्म सहजक हुनुपर्छ ।
कहिलेकाही सहजक बन्दा बन्दैपनि आन्तरिक र बाह्य कारणले ईभीको ब्याट्रीमा समस्या आउन सक्छ । तर, सामान्य समस्यामा पनि ब्याट्री फेर्ने गरेको विदेशमा हामीले सुन्ने गरेका छौं । नेपालमै भने त्यस्तो घटना अहिलेसम्म सुनिएको छैन ।
विदेशमा गाडीको ब्याट्री पड्किएको वा आगलागी भएको समाचार समेत आउने गरेको छ । त्यसैले विशेषत कस्ता समस्या ईभीको ब्याट्रीमा आउन सक्छ भन्ने बिषयमा हामीले यहाँ चर्चा गरेका छौ ।
फल्टी वा ड्यामेज सेपरेटर
ईभीमा प्रयोग भएको ब्याट्री सेल भित्र एक पातलो सेपरेटर हुने गर्छ । यसले एनोड र क्याथोडका आयोनहरुलाई प्रभाव नपार्ने गरी छुटै राख्ने काम गर्छ । ईभीको ब्याट्रीलाई इफिसीयन्ट बनाउन कम्पनीहरुले यस्ता सेपरेटर एकदमै पातलो बनाउने गर्छन् ।

ईभी संचालनको क्रममा वेयर एण्ड टेयरका कारण यो पातलो सेपरेटर ड्यामेज हुन सक्छ । फलतः एनोड र क्याथोड सम्पर्कमा आउन सक्ने र ब्याट्री अनस्टेबल हुनेगर्छ । त्यसकै कारणले सर्टसर्किट हुने वा ब्याट्री पड्कने घटना हुन सक्छ ।
यो सेपरेटर धेरै लामो समय प्रयोग गर्दा वा ओभर चार्जिङका कारण पनि ड्यामेज भएका उदाहरणहरु छन् । त्यसैले ईभी खरिद गर्दा उक्त ईभीमा भएको मुख्य ब्याट्री उत्पादकको बारेमा पनि जान्नुु उपयुक्त हुन्छ ।
तापक्रम संवेदनशीलता
प्रायः सबै ईभीमा प्रयोग हुने लिथियम आयोन ब्याट्रीमा तापक्रमको संबेदनशीलता अत्याधिक हुन्छ । यी ब्याट्रीलाई एकदमै हाइ वा लो टेम्प्रेचरमा एक्सपोज गर्नु हुँदैन । अत्याधिक तातो वा ठण्डीका कारण ब्याट्री चाँडै डिस्चार्ज हुनसक्छ । यसले ब्याट्रीको लाइफ नै घटाउने छ ।

लिथियम आयोन ब्याट्रीको लागि उपयुक्त तापक्रम १८ देखि ४६ डिग्रिसम्म हो । अहिलेको आधुनिक ईभीमा ब्याट्री टेप्प्रेचर कन्ट्रोल गर्न छुट्टै हिटिङ र कुलिङ सिस्टम दिइएको हुन्छ । यसमा एयर कुलिङ, लिक्वीड कुलिङ, फेज चेन्ज मेटेरियल र कुलिङ फ्यानको प्रयोग रहेका हुन्छन् ।
आन्तरिक इलेक्ट्रीक असन्तुलन
धेरै पटक चार्ज र डिस्चार्ज भएपछि ईभीको ब्याट्रीमा इलेक्ट्रीक असन्तुलन पैदा हुन सक्छ । यदि छोटो छोटो समयमा ईभीको ब्याट्री पुरै डिस्चार्ज भएमा ब्याट्रीमा सर्ट सर्किट हुन सक्छ ।

त्यसैगरी, ब्याट्री ओभर चार्ज भएमा यसको तापक्रम बढ्न गई सेपरेटरलाई ड्यामेज गर्न सक्छ । ब्याट्रीमा हुने एनोड, क्याथोड र सेल जस्ता अन्य कम्पोनेन्ट पनि कण्डिसनमा रहनु पर्ने हुन्छ ।
ईभीमा आउने इलेक्ट्रीक असन्तुलनको सिग्नल गाडीको ड्यास बोर्डमा देखाउँछ । यदि गाडी चार्ज गर्न औषतभन्दा बढि समय लाग्यो भने आधिकारीक सर्भिस सेन्टरमा लगेर चेकजाँच गराई हाल्नुपर्छ ।
रिसाइकल गर्न समस्या
लिथियम आयोन ब्याट्रीको पनि निश्चित आयु (लाइफ) हुन्छ । यो विभिन्न केमिकलको प्रयोगबाट उत्कुष्ट इन्जिनीयरीङ प्रविधि मार्फत निर्माण गरिएको बस्तु हो । प्रायः ब्याट्री प्याकमा निकेल, म्यांगनीसियम र कोबाल्ट जस्ता कच्चा पदार्थको प्रयोग भएको हुन्छ । यी पदार्थहरु वातावरण मैत्री मानिदैनन् ।

अहिलेसम्म ईभीको ब्याट्री अन्तिम प्रयोगपछि डिस्पोज गर्ने उत्कुष्ट तरिका पत्ता लागेको छैन । ईभीमा प्रयोग भएको ५ प्रतिशत ब्याट्री मात्र पूर्णतथा रिसाइकल गर्न सकिएको छ । यसको प्रयोगपछि रिप्लेसमेन्टका लागि साइज अनुसार ५ हजारदेखि २५ हजार डलरसम्म खर्च लाग्ने छ । तर, यसको लाइफ १० देखि १५ वर्ष हुने भएकोले आत्तिहाल्नु भने पर्दैन ।
लामो चार्जिङ समय
ईभीमा हुने ब्याट्रीको साइज ठूलो हुन्छ । धेरै क्यापासिटीको ब्याट्री चार्ज हुन पनि धेरै नै सयम लाग्छ । ईभी टेक्नलोजीको विकास र बिस्तार भएसँगै इफिसीयन्ट ब्याट्री बन्न थालेका छन् । अझ परिस्कृत ब्याट्रीहरु आउने चरणमा छन् ।

ब्याट्री उत्पादकहरुले छोटो रिचार्ज टाइम भएका तर, उच्च पावर डेन्सीटीका ब्याट्री निर्माण गरिरहेका छन् । सुरुमा आएका ईभीहरु चार्ज गर्न धेरै समय लाग्थ्यो । त्यसले मानिसलाई ईभी प्रति नै झस्काएको थियो । तर, अहिले प्रविधिको विकाससँगै ईभीको ब्याट्री रिचार्जको समय एकदमै कम भइसकेको छ । यसले ईभीको प्रयोग बिस्तारमा सहयोग पुर्याउने छ ।


