बीएमडब्लूले मोटरसाइकलको मूल्य नघटाउने, उल्टै बढाउने तयारी

काठमाडौं । प्रिमियम मोटरसाइकल बीएमडब्लूको मूल्य नघट्ने भएको छ । आर्थिक वर्ष २०८० ८१ ले ठूला मोटरसाइकलमा दिएको कर छुटको फाइदा ग्राहकले नपाउने भएका हुन् ।

यसअघि यही सेग्मेन्टमा रहेका मोटरसाइकलले ६० हजारदेखि १ लाख ४० हजारसम्म मूल्य घटाएपनि बीएमडब्लूको मूल्य नघट्ने भएको हो ।

कम्पनी स्रोतका अनुसार यही हप्तादेखि मूल्य बढाउने तयारी भइरहेको छ । कम्पनीले ल्याएको २०२३ मोडलका मोटरसाइकलहरुमा भारतबाट नै मूल्य बढेर आएका कारण मोटरसाइकलको मूल्य बढ्ने कम्पनीको भनाइ छ ।

बीएमडब्लूले ३०० सीसीभन्दा माथिका मोटरसाइकल विक्री गर्दै आएको छ । सरकारले ल्याएको नयाँ बजेटले २५० सीसीभन्दा माथिका मोटरसाइकलमा सडक दस्तुर ३० हजार रुपैयाँले कम गरेको थियो । त्यस्तै नेपालमा त्यसको अन्तःशुल्कमा ९० प्रतिशत लाग्दै आएकोमा घटाएर ६० प्रतिशत बनाइएको छ । यसका बाबजुद कम्पनीले मूल्य नघटाउने भएको हो ।

अहिले बीएमडब्लूले जी ३१० आर र जी ३१० जीएसको बिक्री वितरण गर्दै आएको छ । बीएमडब्लू मोटरसाइकलको लागि आधिकरिक वितरक हिमालयन मोटोरार्डले बीएस ६ भर्सन जी ३१० आरको १३ लाख ७५ हजार र जी ३१० जीएसको मूल्य १४ लाख ७५ हजार रुपैयाँमा कायम गरेर बिक्री गर्दै आएको छ ।

बीएस ४ भर्सनका जी ३१० आरको मूल्य ९ लाख ५० हजार र जी ३१० जीएसको मूल्य १० लाख ९० हजार रुपैयाँ रहेका छन् ।


Back_to_top