काठमाडौं । सार्वजनिक यातायात विद्युतीय बनाउने चर्को बहस चलिरहेको समयमा अर्थमन्त्री डा. प्रकाशशरण महतले विद्युतीय माइक्रोबसमा कर बढाएका छन् । उनले ११ देखि १४ सिटसम्मका विद्युतीय माइक्रो बसमा १० प्रतिशत भन्सार लगाएका छन् ।
यसअघि १० सिटसम्मका विद्युतीय सार्वजनिक सवारीमा मात्रै १० प्रतिशत कर लाग्दै आएको थियो । सोमबार सार्वजनिक भएको बजेटपछि १४ सिटसम्मकै विद्युतीय बसमा १० प्रतिशत कर लगाइएको हो । विद्युतीय सार्वजनिक सवारीमा अनुदान खोजिएको समयमा लगाइएको करको चौतर्फी आलोचना सुरु भएको छ ।
यो व्यवस्थाले यसअघि १ प्रतिशत करमा भित्रिएका विद्युतीय बसहरु अब १० प्रतिशत भन्सार तिरेर ल्याउनु पर्ने भएको छ । बजेटले १५ सिट माथिका इलेक्ट्रीक बसमा मात्रै १ प्रतिशत भन्सार बनाएको छ ।
अहिले नेपालमा करिब ३ सय यूनिट १४ सिट क्षमतासम्मका माइक्रोबसहरु संचालनमा रहेका छन् । विशेषगरी बीपी राजमार्गको साथै काठमाडौंबाट हेटौडा, चितवन, सिन्धुली, जनकपुर जस्ता रुटमा यी माइक्रोबस संचालनमा थिए ।
अहिले नै करिब ५५ लाख मूल्य रहेका १४ सिट क्षमताका ईभीहरु कर वृद्धिसँगै ५ लाखसम्मले मूल्य बढेर ६० लाख रुपैयाँ पुग्ने बिक्रेता हरुको भनाई छ ।

