विश्वभर इलेक्ट्रीक कारको उत्पादन वृद्धि हुँदै गइरहेको छ । डिजेलपेट्रोल सवारीले वातावरण प्रदूषणमा निक्कै ठूलो भूमिका खेलेको भन्दै शून्य प्रदूषण सवारीको माग तथा उत्पादन बढ्दै गएको हो ।
विश्वभरका साना ठूला सबैजसो सवारी उत्पादकहरु इलेक्ट्रीक सवारी बनाउनमा केन्द्रीत भएका छन् । इलेक्ट्रीक सवारी नै बनाउने कम्पनीले समेत इलेक्ट्रीक कार बनाउँदै आएका छन् ।
यस्तैमा यहाँ २०१९ को ६ महिनामा विश्वभर कुन कम्पनीको इलेक्ट्रीक सवारीको बजार हिस्सा कति छ भन्ने उल्लेख गरिएको छ । इनसाइडभइभीज्ले विश्वका इलेक्ट्रीक सवारी उत्पादक कम्पनीको बजार हिस्सा उल्लेख गरेको छ ।
इलेक्ट्रीक सवारी नै उत्पादन गर्ने अमेरिकी कम्पनी टेस्लाको सबैभन्दा धेरै बजार हिस्सा रहेको छ । २०१९ को ६ महिनामा विश्वभर टेस्लाको बजार हिस्सा १९ प्रतिशत रहेको इनसाइडइभीज्ले उल्लेख गरेको छ । त्यस्तै चीनको सबैभन्दा ठूलो इलेक्ट्रीक सवारी उत्पादक कम्पनी बीवाईडीको बजार हिस्सा १३ प्रतिशत रहेको छ ।
तेस्रो स्थानमा जर्मन सवारी उत्पादक कम्पनी बीएमडब्लू रहेको छ । विश्व इलेक्ट्रीक सवारी बजारमा बीएमडब्लूको बजार हिस्सा ६ प्रतिशत रहेको छ । त्यस्तै जापानी कार उत्पादन कम्पनी निसानको ४ प्रतिशत, कोरियाली कम्पनी हुन्डाईको ४ प्रतिशत बजार हिस्सा रहेको छ ।
विश्व इलेक्ट्रीक सवारी बजारमा जर्मन सवारी उत्पादक कम्पनी फक्सवागन र चिनियाँ इलेक्ट्रीक सवारी कम्पनी बेइजिङ अटोको बजार हिस्सा समान ४ प्रतिशत रहेको छ । इलेक्ट्रीक सवारीमा चिनियाँ कम्पनीहरु अगाडि नै रहेको देखिन्छ ।
बेइजिङ अटोपछि विश्व इलेक्ट्रीक सवारी बजारमा कोरियाली कम्पनी कियाको बजार हिस्सा ३ प्रतिशत हुँदा फ्रेन्चका उत्पादक कम्पनी रेनोको बजार हिस्सा ३ प्रतिशत रहेको छ ।
अन्य कम्पनीहरुले पनि इलेक्ट्रीक सवारी उत्पादन गरि रहेका छन् । विश्वका सबै जसो देशहरुले इलेक्ट्रीक सवारी बिक्रीलाई सहुलियत दिइरहेका छन् । त्यसैले पनि इलेक्ट्रीक सवारीको बिक्री बढ्दै गइरहेको छ ।

