पूर्वाधार तयार गरेर मात्रै इम्बोस्ड नम्बर अनिवार्य गर्न माग

फाइल तस्बीर

काठमाडौं । यातायात मजदुरसँग सम्बन्धित संगठनहरूले आवश्यक पूर्वाधार तयार नगरी इम्बोस्ड नम्बरप्लेट अनिवार्य नगर्न सरकारसँग माग गरेका छन् ।

मंगलबार नेपाल यातायात मजदुर संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र अखिल नेपाल यातायात मजदुर संघले संयुक्त विज्ञप्ति जारी गरी यस्तो आग्रह गरेका हुन् ।

सरकारले आगामी असोज १ गतेदेखि नयाँ दर्ता हुने, नामसारी र नवीकरण हुने सवारीमा इम्बोस्ड नम्बर अनिवार्य गरेको छ । सोही कार्यान्वयनका लागि यातायात व्यवस्था विभागले भदौ ३ गते सूचना जारी गरेको थियो । उक्त सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको मजदुर संघले बताएका छन् ।

यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउने र समयसापेक्ष सुधार गर्न आफूहरूले सहयोग रहेको तर, सरोकारवालासँग पर्याप्त छलफल र आवश्यक प्राविधिक पूर्वतयाररी गरेर मात्र अनिवार्य गर्न आग्रह गरेका हुन् ।

‘यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउने र समयसापेक्ष सुधार गर्ने विषयमा हामी सकारात्मक सहयोग गर्न तयार छौं,’ विज्ञप्तिमा छ, ‘तर, स्वदेशमै नम्बर प्लेट तयार गर्न सक्ने र हाम्रा साधनहरूको डाटा र सुरक्षाका हिसाबले गोप्य विवरण अरू देशको पहुँचमा जान नसक्ने गरी प्राविधिक पूर्वाधारको पूर्णतयारी गरेर मात्रै सहुलियत शुल्कमा प्रिन्ट गर्न सकिने वातावरण विकास गर्दै सरोकारवालासँग पर्याप्त छलफल गरेर मात्रै इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न हामी जोडदार माग गर्दछौं ।’

त्यस्तै, सरकारी कामकाजको भाषा देवनागरी लिपि हुनुपर्ने प्रावधान रहेको नेपालको संविधानको मर्म विपरीत अंग्रेजी भाषामा लेखिएको र इम्बोस्ड नम्बर प्लेटमा हुने आरएफआईडी (रेडियोफ्रिक्वेन्सी आइडेन्टिटी) चिप्स रिड गर्ने प्राविधिक पूर्वाधार व्यवस्था नगरी यो निर्णय कार्यान्वयन नगर्न उनीहरूले सरकारसँग माग गरेका छन् ।

उनीहरूले सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रिन्टसमेत गर्न नसकिरहेको र दुई वर्षसम्म पनि लाइसेन्स नागरिकले पाउन नसकेको भन्दै सरकारलाई स्मरण समेत गराएका छन् ।


Back_to_top