काठमाडौं । यातायात व्यवस्था विभागले सवारी साधनमा इम्बोस्ड नम्बर जडानका बारेमा सामाजिक संजालहरूमा फैलाइएको भ्रामक अफवाहको पछि नलाग्न सबैमा आग्रह गरेको छ ।
विभागले मंगलबार एक विज्ञप्ति जारी गर्दै असोज १ देखि जडान नगरे जरिवाना लाग्ने, इम्बोस्ड नम्बरको गुणस्तर, तथ्यांकको विवरण मुलुक बाहिर जाने गरेको लगायतका गलत तथा भ्रामक सूचनाहरू प्रचारप्रसार हुँदै आएको भन्दै त्यस्ता भ्रमको पछि नलाग्न आग्रह गरेको हो ।
असोज १ गतेदेखि इम्बोस्ड जडान अनिवार्य गरिए पनि तत्काल कुनै जरिवाना नतोकिएको स्पष्ट पारेको छ । ‘इम्बोस्ड नम्बर प्लेट जडान सम्बेन्धमा सम्पूर्ण सरकारी, निजी र सार्वजनिक सवारी साधनहरूमा क्रमशः जोड्दै लैजाने निर्णय भएको तर मिति २०८२ असोज १ गते देखि जडान नगरेको खण्डमा तुरुन्त जरिवाना वा कारबाहीमा परिने भन्ने भ्रम समेत उत्पन्न भएको विषयमा तत्काललाई कुनै किसिमको दण्डरजरिवाना नगरिने व्यहोरा समेत स्पष्ट पारिन्छ । साथै आफूलाई अनुकूल भएको समयमा सवारी दर्ता गरेको यातायात कार्यालयमा गई स्वः स्फूर्त ढंगले इम्बोस्ड नम्बर प्लेट जडान गरी डिजिटालाइजेसन कार्यमा सहयोग गर्न समेत अनुरोध गरिन्छ,’ विभागले भनेको छ ।
विभागले इम्बोस्ड नम्बर प्लेटमा तोकिएको गुणस्तर सुनिश्चित गरिएको र सवारीको सम्पूर्ण विवरणको डेटा सुरक्षित हुनेगरी विभाग परिसर भित्रै सर्भर व्यवस्थापन गरिएको जानकारी गराएको छ ।
‘इम्बोस्ड नम्बर प्लेटको गुणस्तर तोकिएअनुसार सुनिश्चित गरिएको, सवारी साधनहरूको सम्पूर्ण विवरण तथा तथ्याङ्कहरू मुलुकभित्रै रहने गरी (यातायात व्यवस्था विभागको परिसरमा) डेटा सुरक्षित रहने गरी सर्भरको व्यवस्थापन गरिएकाले यस्ता गलत, भ्रामक तथा अफवाहको पछि नलाग्नु हुन समेत अनुरोध छ,’ विभागले भनेको छ ।
विभाग एवं प्रदेश कार्यालयहरूबाट जडानमा सहजताका लागि उक्त स्थानहरूमा पूर्वाधार र जनशक्तिको व्यवस्था गरिएको र सेवाग्राही तथा सवारीधनीहरूको सहजताका लागि आवश्यकतानुसार थप प्रबन्ध समेत गर्दै लगिएको विभागको भनाइ छ ।

