काठमाडौं । विद्युतीय सवारी साधन (ईभी) पेनिट्रसनमा नेपाल विश्वकै दोस्रो स्थानमा रहेको छ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी र एम्बरको तथ्यांक अनुसार सन् २०२५ मा विश्वमा नयाँ कार बिक्रीमा ईभीको हिस्साको आधारमा नेपाल दोस्रो स्थानमा रहेको छ ।
तथ्यांक अनुसार सन् २०२५ मा नेपालमा बिक्री भएका कुल नयाँ कारमध्ये ईभीको हिस्सा ७३ प्रतिशत रहेको हो । अर्थात् नेपालमा १०० वटा नयाँ कार बिक्री हुँदा ७३ वटा ईभी बिक्री भएका हुन् । यसमा ब्याट्री इलेक्ट्रीक भेहिकल र प्लग इन हाइब्रिड भेहिकल दुवै समावेश छन् ।
जबकि सन् २०१९ मा नेपालमा नयाँ कार बिक्रीमा ईभीको हिस्सा ८ प्रतिशत मात्रै थियो । पछिल्लो ६ वर्षमै नेपालमा ईभी बिक्री हिस्सा ८ गुणाभन्दा धेरैले बढेको छ ।
सरकारले दिएको कर सहुलियतले मूल्य सस्तो हुनु, बढ्दो चार्जिङ पूर्वाधार, पेट्रोलको तुलनामा संचालन र मर्मत खर्च कम हुनु लगायत कारले नेपालमा उपभोक्ता ईभीप्रति आकर्षित भइरहेका हुन् ।
सन् २०२५ मा नेपाललाई उछिन्दै नर्वे शीर्ष स्थानमा रहेको छ । नर्वेमा नयाँ कार बिक्रीमा ईभीको हिस्सा ९७ प्रतिशत रहेको छ । यो वर्ष नर्वेमा १०० वटा नयाँ कार बिक्री हुँदा ३ वटा मात्रै आइस कार बिक्री भएका हुन् ।
ईभी पेनिट्रेसन उच्च हुने देशहरूको सूचीको अग्रस्थानमा नेपाल बाहेक अधिकांश युरोपियन देशहरू रहेका छन् । डेनमार्क ६९ प्रतिशत (तेस्रो), स्वीडेन ६१ प्रतिशत (चौथो), आइसल्याण्ड ६१ प्रतिशत (पाँचौं) स्थानमा रहेको छ ।
त्यसैगरी, फिनल्याण्ड ५६ प्रतिशत, विश्वकै ठूलो अटो बजार चीन ५३ प्रतिशत, बेल्जियम ४३ प्रतिशत, पोर्चुगल ३७ प्रतिशत र आयरल्याण्ड ३४ प्रतिशतसहित क्रमशः शीर्ष दशमा रहेका छन् ।
विश्वकै ठूला अटो बजार मध्येका अमेरिका, जापान, भारत, ब्राजिल लगायत देश भने सूचीको निकै तल रहेका छन् । अमेरिकामा नयाँ कार बिक्रीमा ईभीको हिस्सा १० प्रतिशत मात्रै रहेको छ । त्यस्तै, ब्राजिलमा ९ प्रतिशत, जापानमा ३ प्रतिशत र भारतमा ४ प्रतिशत मात्रै रहेको छ ।


