ट्राफिक व्यवस्थापनमा एआइ प्रयोग गर्दै भारत, अटोमेटिक चिट काट्ने

काठमाडौं । दिल्ली प्रहरीले शहरभरि ट्राफिक जाम घटाउन र हावाको गुणस्तर सुधार गर्न उद्देश्यले एआईमा आधारित एकीकृत ट्राफिक व्यवस्थापन प्रणाली ल्याउने प्रस्ताव गरेको छ ।

ट्राफिक जामका कारण हुने लामो यात्रा समय र वातावरणीय समस्यालाई समाधान गर्ने व्यापक कार्ययोजना अनुसार यो एआइमा आधारित ट्राफिक व्यवस्थापन प्रणाली हाल प्रस्ताव चरणमै रहेको छ । यस सम्बन्धी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) केन्द्रीय गृह मन्त्रालयमा विचारका लागि पेश गरिएको जनाइएको छ ।

प्रस्तावित प्रणालीमा एडाप्टिभ ट्राफिक सिग्नल, अटोमेटिक नम्बर प्लेट रिकग्निसन (पहिचान) क्यामेरा र स्वचालित चलान (चिट) प्रणाली समावेश रहने छ । योजना अनुसार यो प्रणाली दुई वर्षको अवधिमा तीन चरणमा लागू गर्ने योजना रहेको छ ।

यो प्रस्ताव स्वीकृति पाएपछि पहिलो चरणमा एक वर्षभित्र पाँच वटा करिडोरमा २५० एडाप्टिभ सिग्नल जंक्सन र २७१ वटा इन्फोर्समेन्ट प्वाइन्ट जडान गर्ने योजना छ । दोस्रो चरणमा थप सात करिडोर समेटिँदै २२२ सिग्नल जंक्सन र २३६ इन्फोर्समेन्ट प्वाइन्ट थप गरिने प्रस्तावमा उल्लेख छ । अन्तिम चरणमा ३० वटा थप करिडोर समावेश गरिँदै ६२० सिग्नल जंक्सन र ५२२ इन्फोर्समेन्ट स्थान स्थापना गर्ने योजना पेश भएको छ ।

अधिकारीहरूका अनुसार एआई-आधारित प्रणालीले उन्नत डेटा विश्लेषण, एकीकृत सञ्चार प्रणाली र स्वचालित इन्फोर्समेन्ट उपकरणहरूको प्रयोग गरेर वास्तविक समयमा ट्राफिक प्रवाह व्यवस्थापन गर्नेछ ।

ट्राफिक सिग्नलहरू ट्राफिकको घनत्व र औसत सवारी गति अनुसार स्वतः समायोजन हुने अपेक्षा गरिएको छ, जसले म्यानुअल हस्तक्षेपको आवश्यकता कम गर्न सक्छ । यस प्रणालीको डिजिटल फ्रेमवर्कअन्तर्गत यात्रुहरूले वास्तविक समयको ट्राफिक अपडेट पनि पाउन सक्नेछन् ।

यदि यो नयाँ ट्राफिक व्यवस्थापन प्रणाली स्वीकृत भई कार्यान्वयनमा आयो भने राजधानीको सडक ट्राफिक नियमन र अनुगमन गर्ने तरिकामा ठूलो परिवर्तन ल्याउन सक्ने अपेक्षा गरिएको छ ।

 


Back_to_top