इलेक्ट्रीक कारमा बढ्ला भन्सार दर

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ को बजेटले इलेक्ट्रीक कारको भन्सार दरमा परिवर्तन गर्ने अनुमान सुरु भएको छ । अहिले इलेक्ट्रीक कारमा १० प्रतिशत भन्सार शुल्क लाग्दै आएको छ । तर, सरकारले इलेक्ट्रीक सवारीमा भन्सार बढाउन लागेको विषय अहिले चर्चामा रहेको छ ।

सरकारले ल्याएको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रमको बुँदा नम्बर १७८ मा उल्लेख भएको ‘सार्वजनिक यातायात सेवालाई सहज, यात्रुमैत्री, विश्वसनीय, सुरक्षीत र लागतप्रभावी बनाइने छ । विद्युतीय यातायात प्रणालीलाई प्रोहोत्सान गरिने छ । सार्वजनिक यातायात प्राधिकरण स्थापनागरि यातायात प्रणालीको व्यवस्थापन र नियमनलाई प्रभावकारी बनाइने छ ।’ भन्ने विषयलाई भन्सार वृद्धिले सहयोग पुग्ने देखिदैन ।

विजुली उत्पादनमा आत्मनिर्भर तर्फ उन्मुख भएको समयमा सरकारले प्रतिव्यक्ति विद्युत खपतपनि बढाउने लक्ष्य राखेको छ । सरकारको यो लक्ष्यलाई पुरा गर्न पनि विद्युतीय सवारीमा लाग्ने कारका दरमा तत्काल परिमार्जन गर्न नहुने व्यवसायीहरुले तर्क गर्दै आएका छन् ।

निजी क्षेत्रले इलेक्ट्रीक सवारीसाधन चार्ज गर्नको लागि चार्जिङ स्टेशन निर्माणलाई तिब्रता दिएका छन् । आफ्नै लगानीमा कम्पनीहरु बजार विस्तारमा लागेको समयमा इलेक्ट्रीक सवारीसाधनको कारण पेट्रोलियम पदार्थको आयातमा केही भएपनि कमी आउने हुँदा यस्ता सवारीसाधन आयातमा तत्काल भन्सार दर बढाउन नहुने नाडा अटोमोवाइल एसोसिएसन अफ नेपालको बुझाई रहेको छ ।

‘तत्काल इलेक्ट्रीक सवारीसाधनमा कर बढाउने सरकारले योजना बनाएको हो भने नेपालमा इलेक्ट्रीक सवारीसाधनको प्रयोग बढाउने सरकारी नीतिनै असफल हुने देखिन्छ’, नाडाका एक पदाधिकारीले भने ।

सरकारले इलेक्ट्रीक सवारीसाधनको प्रयोग बढाउने नीति नै बनाएको र आवश्यक चार्जिङ स्टेशन निर्माणमा लगानी गर्ने घोषणा गरेको समयमा इलेक्ट्रीक सवारीसाधनमा भन्सार दर बढाउछ वा बढाउदै भन्ने अहिले सबैको चासोको विषय बनेको छ । बजेट आगामी बिहिबार सार्वजनिक हुने छ ।


Back_to_top