काठमाडौं । चिनियाँ मुद्रा बलियो बन्दै जाँदा नेपाल आयात हुने विद्युतीय सवारी साधन (ईभी)को भाउ पनि महँगिँदै गएको छ ।
पछिल्लो समय लगातार चिनियाँ युआनको भाउ आकाशिँदै जाँदा नेपाल ल्याइने ईभीलाई पहिलाको तुलनामा धेरै मूल्य तिर्नुपर्ने अवस्था आएको हो ।
पछिल्लो समय चिनियाँ अटो उत्पादकहरूले ईभीको मूल्य बढाएका छैनन्, प्राइसवारमा उत्रिएका छन् । तर, युआनको भाउ बढ्दा नेपाली व्यवसायीले उही गाडीलाई पहिलाको तुलनामा धेरै पैसा तिर्नुपर्ने भएको हो । यद्यपि, बिक्रेताले उपभोक्तालाई भने मूल्य बढाएका छैनन् ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार ६ महिनामा चिनियाँ युआनको भाउ ठ्याक्कै १ रुपैयाँ बढेको छ । गत वैशाख १ गते १९ रुपैयाँ रहेको चिनियाँ युआनको बिक्रीदर आज (असोज २३ गते) २० रुपैयाँ पुगेको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा युआनको प्रभाव बढ्दै जाँदा नेपाली मुद्रा अवमूल्यन हुने क्रम बढेको हो ।
व्यवसायीहरूका अनुसार युआन महँगिँदा ६ महिनामै एउटै गाडीमा डेढदेखि २ लाख रुपैयाँसम्म बढी तिर्नुपर्ने अवस्था आएको छ । हाल नेपालमा औसतमा १ लाख ५० हजार युआन हाराहारी विद्युतीय कार आयात हुन्छन् । सो अनुसार युआनको भाउ १ रुपैयाँ बढ्दा गाडीको मूल्य डेढ लाख बढेको हो । अझ महँगा गाडीमा यो भन्दा धेरै मूल्य बढेको छ ।
चिनियाँ अटो कम्पनी बीचको चर्को प्राइसवारले नेपालीलाई फाइदा पुगे पनि मुद्राको भाउ बढ्दा भने लागत बढ्दै गएको सवारी आयातकर्ताहरू बताउँछन् । एउटै गाडीमा ६ महिना अघि एलसी खोल्दा र अहिले एलसी खोल्दा डेढदेखि २ लाखसम्म फरक पर्न थालेको हाे ।
‘युआनको भाउ लगातार बढ्दा हाम्रो लागत पनि बढाएको छ । एउटै गाडीमा ६ महिनाको अन्तरमा डेढदेखि २ लाखसम्म फरक पर्न थाल्यो । वैशाखमा एउटा गाडीलाई करिब साढे २८ लाख तिर्नुपर्थ्यो । अहिले एलसीखोल्दा ३० लाख बढी तिर्नुपर्ने भएको छ,’ एक आयातकर्ताले मेरोअटोसँग भने ।
गाडी आयातको लागत बढे पनि हालसम्म उपभोक्तालाई बिक्री मूल्य भने नबढाइएको उनले बताए । ‘उता युआनको भाउ बढ्दा लागत बढिरहेको छ । यता बजारमा चर्को प्राइसवार छ । मूल्य बढाउन सक्ने अवस्था पनि छैन । अझै युआनको भाउ बढिरह्यो भने सोच्नुपर्ने अवस्था आउन सक्छ,’ उनले भने ।
यसरी नै युआनको मूल्य बढ्दै जाने हो भने छिट्टै मूल्य बढाउनु पर्ने अवस्था सृजना हुने व्यवसायीहरूरुको भनाइ छ । अहिले ब्याट्रीको मूल्य कम हुँदै जाँदा पनि मूल्य थेग्न सकेको अनुमान गर्न सकिन्छ ।
हाल नेपालमा आयात हुने झण्डै ७० प्रतिशत ईभी चीनबाट आयात हुन्छ । गत आवमा चीनबाट मात्रै ८ हजार युनिट बढी ईभी आयात भएको थियो ।

