काठमाडौं । आज शोसल मिडियामा निकै चर्चा भएको बिएमडब्ल्यूको एक्सथ्री एम प्याकेज मोडलको गाडी नेपालमै भएको पुष्टी भएको छ ।
दुई वर्षअघि काठमाडौंको बानेश्वरमा बेवारीसे रुपमा फेला परेको बिएमडब्ल्यू एक्सथ्री एम मोडलको कार अहिले नेपालमा सरकारी नम्बर प्लेटमा दर्ता भएर संचालनमा आएको हो ।
‘अर्थमन्त्रालयको पत्रपछि यो गाडीलाई हामीले दर्ता गरेका हौं । अहिले कसले प्रयोग गरिरहेको छ थाहा भएन । तर, लामो समय एयरपोर्ट भन्सारमा थन्किएको कारण गाडी मर्मत गर्नु पर्ने अवस्थामा थियो । दर्ता नगरी यसलाई मर्मत गर्न कानुनी आधार थिएन’, तात्कालीन यातायात व्यवस्था सेवा कार्यालय हेटौंडा प्रमुख पोषण थापाले मेरोअटोसँग भने ।

लामो समय बानेश्वरको ग्यारेजमा थन्किएर बसेको त्यो गाडीलाई प्रहरीले नियन्त्रणमा लिएर एयरपोर्ट भन्सारमा लगेर राखेको थियो । भारतको हरियाणा राज्यमा दर्ता रहेको एचआर ४६ डी १७८० नम्बर रहेको गाडी अहिले बागमती प्रदेशमा दर्ता भएर सरकारी नम्बर प्लेट प्रदेश ३–०३÷००१ झ ००४५ नम्बर प्लेट लागेको हो ।
‘अहिले यो गाडी कर्णाली प्रदेशले प्रयोग गर्नेगरि लगिएको छ । कसले प्रयोग गरिरहेको छ भन्ने विषयमा जानकारी भएन’, यातायात व्यवस्था सेवा कार्यालय हेटौंडाका प्रमुख सुरेस चापागाईले मेरोअटोसँग भने ।
सरकारले जफत गरेको बिएमडब्ल्यू एक्सथ्री एम प्याकेजको यो मोडलको मूल्य अहिलेको बजारभाउ अनुसार करिब २ करोड रुपैयाँ पर्छ ।


