द्रुतमार्गको डीपीआरको ड्राफ्ट तयार, अन्तिमरुप दिदै सेना

काठमाडौंं । कोरियन कम्पनी सुसाङ इन्जिनियरिङ्गले काठमाडौं निजगढ द्रुतमार्गको डीपीआर तयार पारेको छ । 

बहुप्रतिक्षित काठमाडौं–तराई (निजगढ) द्रूतमार्ग निर्माणकार्य विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) बिना नै अघि बढिरहेको थियो । अब भने आयोजनाको डीपीआर तयार भएको हो । 

नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक एवम् सेनाका प्रवक्ता यमप्रसाद ढकालले आयोजनाको डीपीआरको ड्राफ्ट तयार भएको जानकारी दिए । 

‘आयोजनाको डीपीआरको ड्राफ्ट तयार भएको छ, त्यसको अध्यन हामी गरिरहेका छौं । अध्यनपछि केही सुधार गर्नुपर्ने भए सुधारगरी अन्तिमरुप दिने तयारी भइरहेको छ’ ढकालले मेरोअटोसँग भने ।

एडीबीले सन् २००८ मा तयार पारेको सम्भाव्यता अध्ययनअनुसार अहिले विभिन्न स्थानमा रेखाङ्कन तथा माटो काट्ने र भर्ने काम भैरहेको थियो । 

आर्थिकरुपमा मुलुकको महत्वपूर्ण सडक सञ्जालको रुपमा द्रूतमार्गलाई लिइएको छ । काठमाडौं र तराईको दूरी ७६ किलोमिटर छोटो हुने गरी निर्माण भैरहेको यो सडकले राष्ट्रिय महत्वको रुपमा स्थान पाएको छ । 

सबै क्षेत्रमा काम गर्नका लागि सेनाले करिब एक हजार दक्ष जनशक्ति खटाएको छ ।

सेनाले २८ स्वदेशी ठेकेदार कम्पनीहरूमार्फत् अहिले द्रूतमार्गको निर्माण गरिरहेको छ । ती ठेकेदार कम्पनीहरूले कामलाई खण्ड–खण्डमा विभाजन गरी गरिरहेका छन् । निर्देशक ढकालकाअनुसार, २८ कम्पनीमध्ये २० ठेकेदार कम्पनीले अहिले रुखहरू काट्ने, पहाड फोर्ने तथा अन्य कामहरू गरिरहेका छन् । 

त्यस्तै, ३ कम्पनीले सुरुङ्गका लागि काम गरिरहेका छन् भने बाँकी पाँच कम्पनीहरू बुङ्ग्मती–खोकनालगायतका स्थानहरूमा कामका लागि कुरेर बसिरहेका छन् । 


Back_to_top