भारतमा कार विक्रीमा नयाँ रेकर्ड बन्दै, नेपालमा निरन्तर खराब

काठमाडौं । भारतीय अर्थतन्त्रमा देखिएको सकारात्मक प्रभाव गाडीको विक्रीमा पनि देखिएको छ । हिजो विभिन्न कम्पनीले प्रकाशित गरेको फेब्रुअरी महिनाको विक्री तथ्यांकले गाडीको विक्रीमा उच्च वृद्धि देखाएको हो ।

फेब्रुअरी महिनामा सबैभन्दा धेरै कार विक्री गर्दै आएको मारुती सुजुकीले आफ्ना प्रतिस्पर्धीलाई निकै पछाडि छाड्न सफल भएको छ । कम्पनीले फेब्रुअरीमा मात्रै १ लाख ७२ हजार ३२१ यूनिट कार विक्री गरेको तथ्यांक सार्वजनिक गरेको छ । कम्पनीहरुले सार्वजनिक गरेको यो तथ्यांक होलसेल विक्री हो ।

त्यसैगरी दोस्रो स्थानमा रहेको हुन्डाईले ४७ हजार १ यूनिट कार भारतमा विक्री गर्दा हुन्डाईलाई पच्छाई रहेको टाटाले ४२ हजार ८६२ यूनिट कार विक्री गर्न सफल भएको छ । यी दुबै कम्पनीले अघिल्लो वर्षको फेब्रुअरीको तुलनामा धेरै कार विक्री गर्न सफल भएका हुन् ।

महिन्द्राले पनि ३० हजार ३५८ यूनिट विक्री गर्दै आफ्नो विक्रीलाई बढाउन सफल भएको छ । महिन्द्राले विक्री गरेको अधिकांश गाडी एसयूभी हुन् । महिन्द्रालाई पच्छाई रहेको कियाले पनि २४ हजार ६०० यूनिट गाडी विक्री गर्दै आफ्नो विक्री अघिल्लो वर्षको फेब्रुअरीको तुलनामा ३५ प्रतिशतले वृद्धि गरेको हो ।

अधिकांश ठूला कम्पनीले आफ्नो विक्री तथ्यांक सार्वजनिक गर्दा सबैले आफ्नो विक्री बढाउन सफल भएको छ । अन्य कम्पनीले पनि आज र भोलिमा सम्पूर्ण विवरण प्रकाशित गर्नेछन् ।

नेपालमा निरन्तर ओरालो

नेपालमा कार विक्री निरन्तर ओरालो लागिरहेको छ । अहिले टाटाको विद्युतीय कार बाहेक अन्य कम्पनीले उत्साहजन विक्री पनि पाएका छैनन् । अघिल्लो वर्षको पुसबाट निरन्तर ओरालो लागेको नेपाली कार बजार अहिले पनि त्यही अवस्थामा रहेको छ ।

मानिसको आम्दानीमा आएको गिरावट, केन्द्रिय बैंकले कर्जा प्रबाहमा गरेको कडाईका कारण गाडी किन्ने मानिसले कर्जा पाउने अवस्था छैन । साथै, उच्च व्याजदर र विद्युतीय गाडी प्रतिको बढ्दो आकर्षणको कारण पनि गाडी विक्री हुन सकेको छैन । विद्युतीय गाडीको भने सप्लाईमा समस्या निरन्तर रहेको छ ।


Back_to_top